धनगढी पोष्ट बिहिबार, ०६ मङि्सर २०८१   November 21, 2024

धनगढीको पशुपति टोलमा चार जनामा  हैजा पुष्टि

संक्रमित चार जना एकै घरमा बसोबास गर्दै आइरहेका छन् ।

धनगढीको पशुपति टोलमा चार जनामा  हैजा पुष्टि

धनगढी । धनगढी उपमहानगपालिकको वडा नम्बर १ पशुपति टोलमा थप दुई जनामा हैजा देखिएको छ ।  थप दुई जनामा देखिएसँगै पशुपति टोलमा हैजा पुष्टि हुनेको संख्या चार पुगेको छ ।

स्वास्थ्य कार्यालय कैलालीका प्रमुख वरिष्ठ जनस्वास्थ्य अधिकृत आशुतोष श्रेष्ठका अनुसार शनिबार पशुपछि टोलका  दुई जना बालक ( ६ र ८ वर्षीय ) मा हैजा संक्रमण पुष्टि भएको छ । साउन १० गते सोही  टोलका दुई जना युवती (२३ र २६ वर्षीय ) मा हैजा देखिएको थियो

संक्रमित चार जना एकै घरमा बसोबास गर्दै आइरहेका छन् ।

वरिष्ठ जनस्वास्थ्य अधिकृत आशुतोष श्रेष्ठले आठ जना संक्रमितको परिक्षण गरेकोमा चार जनामा हैजा संक्रमण पुष्टि भएको र बाँकी चार जनाको ल्याबमा परिक्षणकै क्रममा रहेको बताए । हैजा प्रभावित क्षेत्रका एक सय ५०  घरधुरी भन्दा बढीमा पाँच हजार औषधी वितरण गरिसकेको उनले बताए ।

हैजा ‘भिब्रियो कोलेरी’ प्रजातिको जीवाणुबाट मानिसमा लाग्ने अति संक्रामक झाडापखाला सम्बन्धी रोग हो ।

स्वास्थ्य कार्यालय कैलालीका प्रमुख श्रेष्ठले भने, ‘हैजाका जीवाणु संक्रमित खाना वा पानीको सेवनका कारण लाग्ने गर्छ । सरसफाइ तथा स्वच्छ खानेपानीको कमीले यो रोग फैलिने सम्भावना रहन्छ ।’

पशुपति टोलका करिब ३० जनाको दिसा सङ्कलन गरेर हैजा हो÷होइन भन्ने परीक्षण भइरहेको उनले बताए ।

प्रमुख श्रेष्ठका अनुसार यसका मुख्य लक्षणमा पातलो तथा चौलानी पानी जस्तो दिसा, वाकवाकी र बान्ता हुने, कडा जलवियोजन हुने हुन्छ । कडा लक्षण देखिएमा आँखा गाडिने, मुख जिब्रो र घाँटी सुक्खा हुनु, तिर्खा लाग्नु, छाला सुक्खा हुनु, रक्तचाप कम हुन, पिसाब पहेँलो हुनु र पिसाबको मात्रा कम हुने हुन्छ ।

प्रमुख श्रेष्ठले वर्षातको समयमा पानी विभिन्न तरिकाले दूषित हुने हुँदा सतर्कता अपनाउनु सर्वसाधारणलाई आग्रह समेत गरेका छन् ।

धनगढी उपमहानगरपालिका स्वास्थ्य शाखा प्रमुख योगेश अवस्थीले खाने पानी शुद्धिकरणका लागि एक सय घरधुरीमा कोलोरीन ट्रयाब्लेट वितरण गरिएको बताए । पानी परीक्षणका लागि दश वटा घरको नमुना संकलन गरेर परीक्षणका लागि पठाइएको उनले बताए । रोग नियन्त्रणका लागि माइक्रीङ लगायतका जनचेतना मुलक कार्यक्रमहरु गरिरहेको उनले बताए ।

हैजा संक्रमण भएको एक दिन भन्दा कम समयदेखि पाँच दिनसम्म लक्षणहरू देखा पर्छन् । हैजा संक्रमण भयो र उपचार पाएन भने केही घण्टामै संक्रमितको मृत्यु पनि हुन सक्छ ।