धनगढी पोष्ट
मङ्गलबार, १५ साउन २०८१ मा प्रकाशित
धनगढी । धनगढी उपमहानगरपालिकामा स्थायी बसोबास भएका व्यक्तिले नेपाल रेडक्रस सोसाइटी कैलाली शाखाबाट निःशुल्क रगत पाउने भएका छन् ।
धनगढी उपमहानगरपालिका नगरवासीको उपचारको क्रममा आवश्यक पर्ने रगत र रगतजन्य पदार्थको सहज र निःशुल्क उपलब्धत गराउने भएको हो ।
धनगढी उपमहानगरपालिकाले मङ्गलवार रेडक्रस शाखा धनगढीसँग सम्झौता गर्दै नगरवासीलाई निःशुल्क रगत पाउने व्यवस्था गरेको हो।
सम्झौताअनुसार धनगढी उपमहानगरपालिका भित्र स्थायी बसोबास भएका बिरामीले चिकित्सकको सिफारिसमा रेडक्रसबाट निःशुल्क रगत पाउने छन्।
नगरवासीले प्रयोग गरेको रगतको मूल्य रेडक्रसलाई उपमहानगरपालिकाले तिर्ने सम्झौता भएको हो।
उपमहानगरपालिकाले रेडक्रसलाई त्रैमासिक रुपमा रकम भुक्तानी गर्नेछ। बिरामीलाई रगत अभाव नहोस् भनेर उपमहानगरको विभिन्न स्थानमा रक्तदान शिविर समेत सञ्चालन गरिनेछ।
चालु आर्थिक वर्षका लागि उपमहानगर र रेडक्रस शाखा धनगढीले निःशुल्क रगत पाउने सम्झौता गरिएको हो।