धनगढी पोष्ट शनिबार, ०८ मङि्सर २०८१   November 23, 2024

वरिष्ठ सईको तलब बढाउन सर्वोच्चको परमादेश

वरिष्ठ सईको तलब बढाउन सर्वोच्चको परमादेश

 काठमाडौं । नायव निरीक्षक (सई) कोभन्दा कम तलब पाएका वरिष्ठ नायव निरीक्षक (वरिष्ठ सई) हरुको पक्षमा सर्वोच्च अदालतले परमादेश जारी गरेको छ ।

बुधबार सर्वोच्चका न्यायाधीशद्वय तिलप्रसाद श्रेष्ठ र सारंगा सुवेदीको संयुक्त इजलासले वरिष्ठ सईहरुको तर्फबाट दायर भएका दुई वटा फरक(फरक रिटमा वरिष्ठ सईहरुको पक्षमा आदेश जारी गरेको हो ।

वरिष्ठ सई विनय चन्दसहितका १४ वरिष्ठ सईहरुले १६ पुस २०८० मा र उनीहरुले नै १३ असार २०८१ मा दायर गरेका दुई वटा छुट्टा-छुट्टै रिटमा सर्वोच्चले परमादेश र अन्तरिम आदेश जारी गरेको हो । जसमा उनीहरुको माग बमोजिम हुने उल्लेख गरिएको छ ।

सईमा खाएको तलबभन्दा कम तलब भएपछि वरिष्ठ सईहरु चन्दा उठाएर सर्वोच्चमा मुद्दा लडेका थिए । यो मुद्दाको ‘लिडिङ लयर’को रुपमा नेपाल प्रहरीकै पूर्वएसपी तथा अधिवक्ता डा। गणेश रेग्मी हुन् ।

वरिष्ठहरुको पक्षमा मागबमोजिम हुने र परमादेश जारी भएसँगै वरिष्ठ सईहरुले न्याय पाएको उनले बताएका छन् । मुद्दा दर्ता भइसकेपछि यही बीचमा अनिवार्य अवकाशमा गएका बरिष्ठ सईहरुले समेत न्याय पाएको उनले बताए ।

अब पुरानो पदको तलब नयाँ पदमा समायोजन भई वरिष्ठ सईले स्वत विगतको भन्दा थप तलब पाउने र सई र इन्सपेक्टरले जस्तै वरिष्ठ सईले ८ ग्रेडसम्म पाउने अवस्था सिर्जना भएको उनले बताए । नेपाल प्रहरीमा अहिले जनपदतर्फ १ हजार १ सय ७१ वरिष्ठ सईको दरबन्दी छ ।