धनगढी पोष्ट
बिहिबार, १७ साउन २०८१ मा प्रकाशित
धनगढी । सुदूरपश्चिम प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री कैलाश चौधरीले पदबाट राजीनामा दिएका छन् ।
उनले मुख्यमन्त्री दीर्घबहादुर सोडारीलाई राजीनामा बुझाएका हुन् । मन्त्री चौधरीले बिहीवार मुख्यमन्त्री सोडारीलाई राजीनामा पत्र बुझाएको बताए ।
उनले भने, ‘अल्पमतको सरकार हो, मैले जतिसम्म काम गरेँ, उहाँलाई सहयोग नै रह्यो । अब उहाँले मार्गप्रशस्त गर्नुपर्छ ।’
उनकै दल नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठले चौधरीले राजीनामा दिएको बिहीवार पुष्टि गरेकी छिन् ।
गत वैशाख ६ गते मुख्यमन्त्रीको शपथ लिएका सोडारीले चौधरीलाई सोही दिन भौतिक पूर्वाधार विकास मन्त्रीमा नियुक्त गरेका थिए । अल्पमतमा परेका सोडारीले शुक्रवार विश्वासको मत लिँदैछन् ।
मुख्यमन्त्रीले विश्वासको मत लिनु एकदिनअघि चौधरीले दिएको राजीनामालाई अर्थपूर्ण रुपमा हेरिएको छ । चौधरी नागरिक उन्मुक्तिबाट सांसद हुँदै मन्त्री भएका थिए ।