धनगढी पोष्ट शनिबार, ०८ मङि्सर २०८१   November 23, 2024

कञ्चनपुरबाट नियन्त्रणमा लिइएको बाघ बर्दियाको उद्धार केन्द्रमा

कञ्चनपुरबाट नियन्त्रणमा लिइएको बाघ बर्दियाको उद्धार केन्द्रमा

बर्दिया । कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका–२ बाट नियन्त्रणमा लिइएको घाइते बाघलाई बर्दिया राष्ट्रिय निकुञ्जको रम्मापुरको उद्धार केन्द्रमा राखिएको छ । शुक्रबार दिउँसो नियन्त्रणमा लिइएको उक्त बाघ राति उद्धार केन्द्रमा राखिएको हो । 

बिहीबार बिहान आफ्नै बारीमा घाँस काटिरहेकी २६ वर्षीया हिरादेवी शाहलाई उक्त बाघले आक्रमण गरेर ज्यान लिएको थियो ।

५ वटा हात्तीसहित प्राविधिक टोलीले शुक्रबार उक्त बाघलाई नियन्त्रणमा लिएको हो । प्राविधिक टोलीले बाघलाई डार्ट गरी बेहोस बनाएर नियन्त्रणमा लिएको थियो ।

बर्दिया निकुञ्जका संरक्षण अधिकृत प्रविण पौडेलले रम्मापुर उद्धार केन्द्रमा शुक्लाफाँटा आरक्षबाट ल्याइएको बाघ भाले भएको बताए । दुई वटा बाघका लागि बनाइएको केन्द्रमा एक समस्याग्रस्त पोथी पनि राखिएको छ ।

यसैगरी बर्दिया निकुञ्जको मुख्यालय ठाकुरद्वारामा रहेको उद्धार केन्द्रमा दुई वटा समस्याग्रस्त भाले बाघ रहेको संरक्षण अधिकृत पौडेलले जनाए ।