धनगढी पोष्ट शुक्रबार, २८ भदौ २०८१   September 13, 2024

कर संकलन गर्न सुदुरपश्चिम प्रदेश सरकारद्धारा अध्यादेश पारित, प्रमाणीकरणको लागि पठाइयो

मन्त्रिपरिषदले पास गरेको अध्यादेश प्रमाणिकरणका लागि सुदुरपश्चिम प्रदेश प्रमुखको कार्यालय पठाइएको छ ।

कर संकलन गर्न सुदुरपश्चिम प्रदेश सरकारद्धारा अध्यादेश पारित, प्रमाणीकरणको लागि पठाइयो

धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले ‘सुदूरपश्चिम सामयिक कर संकलनसम्बन्धी अध्यादेश २०८१ पारित गरेको छ । बिहीबार बिहान बसेको मन्त्रिपरिषद्को बैठकले अध्यादेश पास गरेको हो ।

मन्त्रिपरिषदले पास गरेको अध्यादेश प्रमाणिकरणका लागि सुदुरपश्चिम प्रदेश प्रमुखको कार्यालय पठाइएको छ ।

प्रदेशमा रोकिएको कर संकलन बन्दभएको अवस्था अन्त्य गर्न बिहीबार बिहान बसेको मन्त्रिपरिषद्को बैठकले अध्यादेश पास गरेको मुख्यमन्त्री कमल बहादुर शाहले बताए ।

प्रदेश प्रमुखले प्रमाणिकरण गरेपछि उक्त अध्यादेश ऐन सरहको कानुन बन्नेछ र प्रदेशभरी रोकिएको कर संकलनको कार्य सुचारु हुनेछ ।

प्रदेश सरकारले ल्याउन लागेको अध्यादेशमा गत आर्थिक वर्षकै करका दरहरू राखिएका छन् । यसपाली प्रस्तुत भएको बजेटमा यातायात करमा केही संशोधन गरिएको भए पनि बजेट पास नभएकाले तत्कालका लागि अध्यादेशमा पुरानै करका दरहरू समावेश गरिएको आर्थिक मामिला मन्त्रालयका सचिव झलकराम अधिकारीले बताए ।

तत्कालिन मुख्यमन्त्री दीर्घ बहादुर सोडारी नेतृत्वको सरकार असार १ गते संसदमा प्रस्तुत गरेको बजेट पास हुन नसकेपछि साउन १ गते देखि सुदूरपश्चिम प्रदेशमा राजश्व संकलन बन्द भएको छ ।

बजेट पास नभएपछि प्रदेश सरकारले उठाउने यातायात कर, लिखित पाससम्बन्धी कर, स्थानीय तहहरूले लिने मनोरञ्जन करलगायतको कर संकलन कार्य शून्य भएको छ ।