धनगढी पोष्ट शनिबार, ०८ मङि्सर २०८१   November 23, 2024
तीन वर्षमा चार सय ३८ जना नयाँ बिरामी

कैलालीमा कुष्ठरोगका नयाँ बिरामीको संख्या बढ्दै

कैलालीमा कुष्ठरोगका नयाँ बिरामीको संख्या बढ्दै

धनगढी । कैलालीमा कुष्ठरोगका नयाँ बिरामीको संख्या बढ्दै जान थालेको छ । तीन वर्षयता वर्षेनी कुष्ठरोगका नयाँ बिरामीको संख्या बढ्दै जान थालेको हो ।

स्वास्थ्य कार्यालय कैलालीका कुष्ठरोग फोकल पर्सन देवदत्त जोशीका अनुसार तीन वर्षमा चार सय ३८ जना कुष्ठरोगमा नयाँ बिरामी पता लागेको बताएका छन् । उनले विगतका वर्षहरु भन्दा गत वर्ष कुष्ठरोगका नयाँ बिरामीहरु धेरै पता लागेको बताए । 

उनका अनुसार आर्थिक वर्ष २०८०÷०८१मा एक सय ५८ जना नयाँ बिरामी पता लागेका छन् ।  आर्थिक वर्ष २०७९÷८० मा एक सय ४९ जना नयाँ बिरामी पता लागेकोमा आर्थिक वर्ष २०७८÷०७९मा एक सय ३१ जना नयाँ बिरामी पता लागेको स्वास्थ्य कार्यालय कैलालीले उपलब्ध गराएको तथ्याङकमा उल्लेख छ । 

कुष्ठरोग उपचार पुरा गरेका बिरामीहरुको संख्या पनि वर्षेनी बढ्दै जान थालेको छ । २०८०÷०८१मा कुष्ठरोग उपचार पुरा गरेका बिरामीहरु एक सय ५४ जना छन् भने उपचारमा रहेका एक सय ४० जना रहेका छन् । 
२०७९÷०८०मा एक सय सात जनाले कुष्ठरोग उपचार पुरा गरेका छन् भने एक सय ९३ जना उपचारमा रहेका छन् । 

यस्तै २०७८÷०७९ मा कुष्ठरोग उपचार पुरा गरेका बिरामीहरु एक सय ३२ जना छन् भने एक सय ४२ जना उपचारमा रहेको स्वास्थ्य कार्यालय कैलालीले जनाएको छ । 

कुष्ठरोग फोकल पर्सन जोशीले अझै पनि कुष्ठरोग लागेका व्यक्तिहरुलाई समुदायमा भेदभाव, अपहेल्ना, विवाह लगायत विद्यालयमा समस्या हुने गरेको बताए ।  

कुष्ठरोग लागेका व्यक्तिहरु खु्लेर नआउँदा खेरी समुदाय स्थरमा खोज पताल गर्दा धेरै पता लाग्ने र नभए कम देखिने गरेको उनले बताए । 

प्रत्येक वर्ष पालिका–पलिका अनुसार समुदाय स्थरमा कुष्ठरोग खोजपताल गरिरहेको उनको भनाइ रहेको छ । उनले पहिला कुष्ठरोगका बिरामीहरु अपाङगता भएका पता लाग्ने गरेको भएपनि अहिले सुरुमै पता लाग्ने गरेको बताए । 

सुमदायमा खोजपताल गर्दा बढी जस्तो बच्चामा बढी देखिने गरेको उनले बताए । ७ वर्ष देखि १४ वर्ष सम्मका बच्चा र २५ वर्षदेखि ४५ वर्ष उमेर समुहका व्यक्तिहरुमा बढी देखिने गरेको उनले बताए । 

उनका अनुसार यो रोग विस्तारै सर्ने भएकाले दुई देखि पाँच वर्ष पछि देखापर्ने गरेको छ । भारतमा गएकाहरु र रोग प्रभावित क्षेत्रहरुमा गएकाहरु लाई रोग सर्ने गरेको उनको भनाइ छ ।