धनगढी पोष्ट शनिबार, ०८ मङि्सर २०८१   November 23, 2024

बिमस्टेक सम्मेलन नभए प्रधानमन्त्री भारत जाने

बिमस्टेक सम्मेलन नभए प्रधानमन्त्री भारत जाने

काठमाडौ । प्रधानमन्त्री केपी ओलीले भारतीय समकक्षी नरेन्द्र मोदीलाई नेपाल भ्रमणका लागि आइतबार भारतीय विदेशसचिवमार्फत निमन्त्रणा दिएको सार्वजनिक भयो ।

उच्च कूटनीतिक स्रोतका अनुसार त्यही दिन मोदीका तर्फबाट पनि प्रधानमन्त्री ओलीलाई भारत भ्रमणको निमन्त्रणा दिइएको छ । 

‘प्रधानमन्त्री ओलीलाई समकक्षी मोदीले भारत भ्रमणका लागि निमन्त्रणा दिनुभएको छ । यदि ४ सेप्टेम्बरमा थाइल्यान्डमा बिमस्टेक शिखर सम्मेलन भएन भने प्रधानमन्त्रीको भारत भ्रमण हुने सम्भावना छ,’ ती अधिकारीले भने । 

थाइल्यान्डमा प्रधानमन्त्री स्रेथा थाभिसिन अदालतको आदेशअनुसार पदमुक्त भएसँगै शुक्रबार पेटोङटार्न सिनावात्रा प्रधानमन्त्री निर्वाचित भएकी छिन् ।

बिमस्टेक सम्मेलन १९ भदौका लागि तय भएकोमा बंगलादेश र थाइल्यान्डमा सरकार परिवर्तनका कारण अन्योलमा छ । 

प्रधानमन्त्री ओलीले बिमस्टेक सम्मेलनको भोलिपल्ट २० र २१ भदौमा थाइल्यान्डका राजा र प्रधानमन्त्रीसँग भेटवार्ता तय थियो ।

‘विमस्टेक सम्मेलनमा जाने क्रममा प्रधानमन्त्रीको औपचारिक थाइल्यान्ड भ्रमणका रूपमा गराउने तयारी थियो ।

तर, पछिल्लो परिवर्तनपछिको अवस्थामा के हुन्छ भन्ने केही दिनमा थाहा होला,’ परराष्ट्रका अधिकारीले भने, ‘बिमस्टेक सम्मेलन नहुने स्थिति भयो भने प्रधानमन्त्रीको भारत भ्रमण हुन्छ ।

त्यो अवस्थामा प्रधानमन्त्री ५ असोजमा संयुक्त राष्ट्रसंघीय महासभा (न्युयोर्क)का लागि जानुभन्दा अघि नै भारत भ्रमण पनि हुन सक्छ ।’