धनगढी पोष्ट शनिबार, ०८ मङि्सर २०८१   November 23, 2024

सुदूरपश्चिममा डेङ्गु सङ्क्रमण बढ्दै

सुदूरपश्चिममा डेङ्गु सङ्क्रमण बढ्दै

धनगढी । सुदूरपश्चिममा डेङ्गुको सङ्क्रमण बढ्न थालेको छ  । आर्थिक वर्ष २०८०÷०८१ को माघ महिना यता आर्थिक वर्ष २०८१÷०८२ को साउन मसान्तसम्म दुई सय ७४ जनालाई डेङ्गु सङ्क्रमण भएको छ । 

सुदूरपश्चिम स्वास्थ्य निर्देशनालयका कीटजन्य रोग अधिकृत हेमराज जोशीका अनुसार सबै भन्दा बढी कैलालीमा ५६ जनालाई डेङ्गु सङ्क्रमण भएको छ । 

उनले डोटी र अछाममा ५५, कञ्चनपुरमा ३९, दार्चुलामा २०, बाजुरामा १७, डडेल्धुरामा नौ, बैतडीमा आठ र बझाङमा पाँच जना डेङ्गु सङ्क्रमित भएको बताए । 

गर्मी र बर्सातको सिजनमा लामखुट्टेको वृत्ति विकास बढ्ने गरेकाले डेङ्गुको सङ्क्रमण बढ्ने गरेको उनले बताए । अहिले डेङ्गु सङ्क्रमणको जोखिम बढी रहने बेला भएको निर्देशनालयका कीटजन्य रोग अधिकृत जोशीले बताए । 

डेंगु नियन्त्रणका लागि प्रदेश सरकारले किट र औषधि व्यवस्थापन, चिकित्सक सहित स्वास्थ्यकर्मीको क्षमता विकास उपचारमा आवश्यक पर्ने सामाग्रीहरु उपलब्ध गराउने एवम् प्रशिक्षणका साथै यहाँका अस्पतालहरुमा सङ्क्रमित बिरामीका लागि छुट्टै वार्ड र शैय्याको व्यवस्थापन गरेको उनले बताए । 

स्थानीय तहले लामखुट्टेको लार्भा भएका ठाउँको पहिचान गरी ‘खोप र नष्ट गर’ सञ्चालन गरिरहेका उनको भनाइ छ । स्थानीय तहहरुलाई डेङ्गु सङ्क्रमण रोक्थामका लागि विभिन्न क्षमता विकास तालिमहरु पनि दिँदै आइरहेको उनले बताए । 

स्वास्थ्य कार्यालय कैलालीका फोकल पर्सन मीनबहादुर धामीले लार्भा खोज र नष्ट गर अभियान सञ्चालन गरेको बताए । संघीय सरकारले प्रत्येक पालिकामा डेङ्गु नियन्त्रणका लागि बजेट समेत विनियोजन गरेको उनले बताए । 
एडिज जातको पोथी लामखुट्टेको टोकाइबाट मानिसलाई डेङ्गु लाग्ने गर्दछ । डेङ्गु सार्ने लामखुट्टेले घाम उदाएको दुई घण्टापछाडि र घाम अस्ताउनु भन्दा दुई घण्टा अगाडिको समय घाम लागेको बेला बढी टोक्ने गरेको प्रादेशिक स्वास्थ्य निर्देशनालय जनाइएको छ ।

यो रोग लागेमा एक्कासि उच्च ज्वरो आउने, मांसपेशी, टाउको दुख्ने, बान्ता हुने, थकान लाग्ने जस्ता लक्षण देखा पर्ने गर्दछ । 

डेङ्गुबाट बच्न लामखुट्टेको टोकाइबाट बच्न आवश्यक रहेको जनाइएको छ । झुल लगाएर मात्रै सुत्ने, घर वरिपरि सरसफाइ गर्ने, भाँडाकुँडामा लामो समयसम्म पानी जम्न नदिने जस्ता कार्य गर्न आवश्यक रहेको बताइएको छ ।    

निर्देशनालयका अनुसार सन् २०२३ मा सुदूरपश्चिममा एक हजार एक सय ९४ जनामा डेंगु सङ्क्रमण देखिनाका साथै चार जनाको मृत्यु भएको थियो ।