धनगढी पोष्ट
बुधबार, ०५ भदौ २०८१ मा प्रकाशित
धनगढी । कैलालीमा एक सय बढी घर डुबानमा परेका छन् । बुधबार लगातारको वर्षाले जिल्लाको कैलारी गाउँपालिका, भजनी नगरपालिका, गौरीगंगा नगरपालिका, घोडाघोडी नगरपालिकालगायत क्षेत्रका करिब एक सय बढी घर डुबानमा परेका हुन् ।
जिल्लाको कैलारी गाउँपालिकामा ७२ घर डुबानमा परेका छन् । पालिकाको विपद् फोकल पर्सन भुवन बखरियाका अनुसार वडा नं. ५ र ७ स्थित पुरानो मनकापुरका ३६, जनकपुर र बसन्ताको २५ र भगहाको ११ घर डुबानमा परेका छन् ।
त्यस्तै गौरीगंगा नगरपालिकाका वडा नं. ७, ९ स्थित महादेवा, भगवानपुर, शंकरपुर गाउँका गरी २२ घर डुबानमा परेको जिल्ला प्रशासन कार्यालय कैलालीले जनाएको छ । जिल्लाको घोडाघोडी नगरपालिका–५ सेउकलिया, वडा नम्बर ९ रत्तीपुर क्षेत्रको पनि दर्जनौँ घर डुबानमा परेका छन् ।