धनगढी पोष्ट
बिहिबार, ०६ भदौ २०८१ मा प्रकाशित
भजनी । भजनी नगरपालिकाका अधिकांश क्षेत्र डुबानमा परेको छ । आफ्ना घरआँगन जलमग्न भएपछि नगरवासी प्रभावित भएका छन् ।
बुधबारको निरन्तरको वर्षाले कान्द्रा, मोहना, काढा र पथरैया नदी बस्तीमा पसेपछि नगर क्षेत्रको जनजीवन प्रभावित भएको हो ।
पूर्ण रुपमा डुबानमा परेकाहरुलाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको स्थानीय खेमराज पाण्डेले जानकारी दिए ।
नगरपालिकाको वडा नं ८ अधिक प्रभावित भएको छ । उक्त वडाका स्थानीयलाई नजिकका अग्ला भवन, विद्यालय र हुलाकी सडकमा व्यवस्थापन गरिएको छ । वर्षा नरोकिएकाले उनीहरुको व्यवस्थापनमा समस्या भएको छ ।
घरमा बाढी पसेपछि अन्नपात जोगाउन कठिन भएको स्थानीय कल्लु चौधरीले बताए । केही छिमेकी अन्नपात छाडेर ज्यान जोगाउनतर्फ लागेकाले धेरै क्षति भएको उनले बताए ।
भजनी नगरपालिका वडा नं ५ मा कान्द्राको बाढीले हुलाकी राजमार्गमा पनि क्षति भएको छ ।
बाढीबाट वडा नं ५ को लालभोझी क्षेत्रमा पनि सयौँ परिवार विस्थापित भएको दिपेश बुढाले जानकारी दिए । जोशीपुरको वडा नं ३ मा पनि बाढीबाट जनजीवन प्रभावित भएको छ ।
नगरपालिकाले आफ्नो स्रोत र साधनले भ्याएसम्म प्रभावितहरूलाई सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेको नगरप्रमुख केवल चौधरीले बताए।