धनगढी पोष्ट शनिबार, ०८ मङि्सर २०८१   November 23, 2024
खोप अभियान

८७ हजार पशुचौपायालाई लगाइयो खोरेत विरुद्धको खोप

८७ हजार पशुचौपायालाई लगाइयो खोरेत विरुद्धको खोप

धनगढी । कैलालीका ११ स्थानीय तहमा ८७ हजार पशुचौपायालाई खोरेत विरुद्धको खोप लगाइएको छ ।

साउन २३ देखि भदौ ४ गतेसम्म ११ वटा पालिकामा ८७ हजार ४४ पशुचौपायालाई खोरेत विरुद्धको खोप लगाइएको हो । जिल्लाका १३ पालिका मध्य दुई पालिकामा खोरेत विरुद्ध खोपको एकिन विवरण आउन सकेको छैन् ।

भेटरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र धनगढीका कार्यालय प्रमुख डाक्टर हेमराज अवस्थीले खोप अभियानमा एक लाख ३० हजार पश्ु चौपायालाई खोप लगाउने लक्ष्य रहेको भए पनि हालसम्म ८७ हजार पशु चौपायालाई खोरेत विरुद्धको खोप लगाइएको बताए । जिल्लाका १३ पालिकामा १० हजार डोजका दरले खोप वितरण गरी खोप अभियान चलाइएको उनले बताए । 

यो पटक जिल्लाका लागि एक लाख ५० हजार पशु चौपायाका लागि खोप मौज्दात रहेको भेटरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र धनगढीले जनाएको छ । 

खोरेत भाइरस अर्थात विशाणुबाट लाग्ने रोग हो । यो रोग लाग्न नदिन हरेक ६÷६ महिनामा खोप लगाउनुपर्छ । खोरेत रोगका कारण पशुजन्य उत्पादन अन्तर्राष्ट्रिय बजारमा पठाउन सकिन्न । त्यसैले सरकारले सन् २०३० सम्म खोरेत रोग उन्मुलन गर्ने लक्ष्य राखेकाले संघन खोप कार्यक्रम चलाइएको छ ।

कार्यालय प्रमुख डाक्टर अवस्थीले एक÷दुई दिन यता पानी परिरहेकोले खोप लगाउन नसकिरहेको बताए ।

‘चुरे र मोहन्यालमा पानी परेर ओलो–गाउँ पलो–गाउँ जान अफठ्यारो छ । यहाँ पनि पानीको कारणले प्रभावित भएको छ । पानी रोकिना साथ खोप लगाउन शुरु गछौँ,’ कार्यालय प्रमुख डाक्टर अवस्थीले भने । 

भदौ १५ गतेसम्म खोप अभियान रहेकाले सो दिनसम्म लक्ष्य पुरा हुने उनले बताए । पालिकाहरुमा १० हजार डोजका दरले खोप वितरण गरिएको भए पनि आवश्यक पालिकाहरुमा थप खोप उपलब्ध गराइने उनले बताए । खोप अभियानमा ७१ जना कर्मचारीहरु परिचालन गरिएको छ । 
कुन पालिकामा कति खोप ?

खोप अभियानमा सबै भन्दा बढी धनगढी उपमहानगरपालिकामा १४ हजार पशु चौपायालाई खोप लगाइएको छ । धनगढीमा सबै भन्दा बढी खोप लागइएकोमा सबै भन्दा कम बर्दगोरिया गाउँपालिकामा पाँच सय चौपायामा  मात्रै खोप लगाइएको छ । 

गोदावरी नगरपालिकामा १३ हजार ५० खोप लगाइएको छ भने गौरीगंगामा सात हजार दुई सय ९१ खोप, घोडाघोडीमा सात हजार तीन सय ५६ खोप, लम्कीचुहामा आठ हजार पाँच सय ५० खोप, टिकापुर र जानकीमा आठ हजार पाँच सय खोप लगाइएको छ । 

यस्तै भजनी नगरपालिकामा सात हजार पाँच सय ९७ खोप, कैलारीमा दश हजार खोप र चुरेमा एक हजार छ सय ५० खोप लगाइएको छ । जोशीपुर र मोहन्याल गाउँपालिकामा खोपको विवरण उपलब्ध नभएको भेटरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र धनगढीले जनाएको छ ।