धनगढी पोष्ट शनिबार, ०८ मङि्सर २०८१   November 23, 2024

सुदूरपश्चिममा गौरा पर्व शुरु, आज बिरुडा पञ्चमी

सुदूरपश्चिममा गौरा पर्व शुरु, आज बिरुडा पञ्चमी

कञ्चनपुर ।  सुदूरपश्चिमको मौलिक पर्व गौरा विधिवत् शुरु भएको छ। भाद्र शुक्ल पक्ष पञ्चमीदेखि शुरु हुने पर्वको पहिलो दिन शनिबार घर(घरमा बिरुडा राखेर मनाइँदै छ। यो दिनलाई बिरुडा पञ्चमी समेत भनिन्छ। आज ब्रतालु महिलाले घरमा ‘बिरुडा’ (पाँच प्रकारका अन्न तथा गेडागुडी) भिजाएर गौराको शुरुवात गर्ने चलन छ। 

तामाको भाँडोलाई गोबरले लिपेर दुबो, अक्षताले शृङ्गारी  त्यसभित्र पञ्च अन्न (मास, कलौँ, गहत, गहुँ र गुरुस) भिजाएर बिरुडा बनाउने चलन छ। बिरुडालाई गौरीको प्रसादका रूपमा लिइन्छ। गौरादेवीको पुजाआजामा पनि बिरुडाको प्रयोग गरिन्छ।

पुत्रदा एकादशीको व्रत बसिसकेपछि भदौको बिरुडा पञ्चमीदेखि गौरा पर्व विधिवत् रूपमा शुरु हुने जानकार गोमती भट्टले बताइन्।

‘एक महिना अघिदेखि नै शुद्ध साकाहार र बह्मचार्यको पालना गरी बिरुडा पञ्चमीका दिन महिलाले मास, कलौँ, गहत, गहुँ र गुरुस मिलाएर तामाको भाडामा भिजाउने गरिन्छ’ उनले भनिन्, ‘बिरुडा भिजाउँदा मांगलकि सगुन फाग गाउँछौँ।’

बिरुडा भिजाउने बेला महिलाले स्थानीय भाषामा रहेको सगुन तथा बिरुडा भिजााउने वेलाको फाग गाउने चलन छ।