धनगढी पोष्ट
आइतबार, ०९ भदौ २०८१ मा प्रकाशित
धनगढी । धनगढी उपमहानगरपालिका ४ मा रहेको नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको निवास अगाडि राखिएको शंकास्पद वस्तु नेपाली सेनाको बम डिस्पोजल टोलीले निस्क्रिय पारेको छ ।
शनिबार राति ड्युटीमा रहेको प्रहरीले देउवाको निवासको बाहिरपट्टीको सडकमा कालो झोलामा तार देखिने गरि शंकास्पद वस्तु देखेको थियो ।
त्यसपछि नेपाली सेनाको बम डिस्पोजल टोली एकाबिहानै घटनास्थल पुगेको थियो ।
केही बेरअघि गरिएको डिस्पोजलमा इलेक्ट्रिक केतली भित्र बालुवा हालेको र त्यो बालुवाभित्र पनि सानो टिफीनको बक्सा जस्तो देखिने वस्तु राखिएको फेला परेको हो ।
नेपाली सेनाको टोलीले उक्त वस्तु निस्क्रिय पारेको हो । त्यसमा विस्फोटक रहे नरहेको प्राविधिक परीक्षण पछि मात्रै थाहा हुने प्रहरीले जनाएको छ ।
देउवाको उक्त निवास सुदूरपश्चिमका पूर्वभौतिक पूर्वाधार विकास मन्त्री प्रकाशबहादुर देउवाले आफ्नो निवासको रुपमा प्रयोग गरिरहेका थिए ।