धनगढी पोष्ट
मङ्गलबार, ११ भदौ २०८१ मा प्रकाशित
नेपालगन्ज । नेपालगन्ज रहेको एउटा पसलबाट ठुलो मात्रामा सुनचाँदीसहित चारजनालाई नियन्त्रणमा लिइएको छ ।
जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी नायब उपरीक्षक नारायण डाँगीले ३४ तोला सुन, साढे १० किलो चाँदी, एउटा गाडी र चारजनालाई नियन्त्रणमा लिइएको जानकारी दिए।
उनका अनुसार बरामद भएको सुनचाँदी पसलका सञ्चालक फरार रहेका छन् । बरामद सामानको मूल्य, गुणस्तर तथा वैधताका विषयमा अनुसन्धान भइरहेकाले पसलको नाम गोप्य राखिएको प्रहरीले जनाएको छ ।
बर्दियाका एकजना सुनपसलेले गाडीमा केही सुनचाँदी किनेर लैजाँदै गरेको सूचनाका आधारमा उनलाई बाटोमा केरकार गर्दा सो परिमाणमा सामान भेटिएको प्रहरीले जनाएको छ ।
ती व्यापारीले नेपालगन्जबाट सामान किनेको बताएको र बिक्री गर्ने कालिगढकहाँ पुग्दा उनी भागेको प्रहरी नायब उपरीक्षक नारायण डाँगीले बताए। रासस