धनगढी पोष्ट शनिबार, ०८ मङि्सर २०८१   November 23, 2024

रवि लामिछानेले नै रास्वपाबाट राजीनामा दिनुपर्छ : मुकुल ढकाल

रवि लामिछानेले नै रास्वपाबाट राजीनामा दिनुपर्छ : मुकुल ढकाल

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीले महामन्त्री मुकुल ढकाललाई साधारण सदस्य समेत नरहने गरी निलम्बित गरेपछि उनले पार्टी सभापति रवि लामिछानेले नै रास्वपाको सदस्यता त्याग्नु पर्ने बताएका छन् ।

मंगलबार समाजिक सञ्जालमा ढकालले लेखका छन्, ‘रवि लामिछाने क्लबबाट निष्काशित भएको हुँ ।, राष्ट्रिय स्वतन्त्र पार्टीबाट निष्काशन गर्ने अधिकार क्लबलाई छैन ।

न्यायिक निकायले क्लबको कारबाहीलाई बदर गरेपछि, नैतिकताको आधारमा रवि लामिछानेले पार्टीको साधारण सदस्यबाट राजीनामा दिनुपर्छ ।’

उनले सभापति लामिछानेको नैतिकतामा समेत प्रश्न उठाएका छन् । ‘नैतिक रूपले पतित पात्र रवि लामिछानेबाट मैले नैतिकताको अपेक्षा त गर्न नमिल्ला । तर पनि उनी कतिसम्म पतित रहेछन्, हेर्दै जाउँला ।, समयले पुष्टि गर्दै जानेछ,’ उनले भनेका छन् ।

ढकालले सहकारी ठगी प्रकरणमा लामिछानेले भ्रम सिर्जना गरेको समेत बताएका छन् । ‘सहकारी प्रकरणका सवालमा रवि लामिछानेले आम जनतालाई भ्रमित पार्ने गरि भाषणबाजी गर्दै हिँडेका छन् ।

आफूविरूद्ध आएका प्रमाणलाई किर्ते भन्दै जनतामा भ्रम छरी राजनीति गरिराखेका छन् । न्याय सम्पादनको प्रक्रियालाई खलल पुर्‍याउने दुस्साहस गर्दैछन् ।

सम्बन्धित निकायको ध्यान जाओस्,’ उनले थप लेखेका छन्, ‘नैतिक रूपले पतित रविलाई नैतिकता कै प्रश्न, अनुसन्धानमा रहिरहेको विषयउपर भ्रम छर्न नलाग्नुहोस् , एउटा पूर्व गृहमन्त्रीलाई त्यो शोभा दिँदैन ।’

ढकाललाई मंगलबार बिहान बसेको रास्वपा केन्द्रीय समितिको बैकठले पार्टीबाट निष्काशन गर्ने निर्णय गरेको थियो । पार्टी अनुशासन उल्लंघन गरेको आरोपमा अनुशासन आयोगको सिफारिसमा उनलाई साधारण सदस्यबाट समेत हटाइएको रास्वपाले जनाएको छ ।