धनगढी पोष्ट बुधबार, १४ कार्तिक २०८१   October 30, 2024

डोटीमा नेकपा नेताले ईन्जिनियर लाई कार्यालयमै कुटे

धनगढी

    नेकपा डोटीका नेताले कार्यालयमै ईन्जिनियरलाई कुटेका छन् । नेकपा जिल्ला कार्यसमिति सदस्य देव बहादुर खडकाले पूर्वीचौकी गाउँपालिकाका इन्जिनियरलाई कार्यालयमै कुटपिट गरेका हुन् ।

  नेकपाका जिल्ला कार्यसमिति सदस्य तथा सरस्वती मावि सानागाउँ खानेपानी उपभोक्ता समितिका अध्यक्ष देव बहादुर खड्काले गाउँपालिकाका ईन्जिनियर शंकरराज खनालमाथि  कार्यालयमै हातपात गरेको गाउापालिकाद्धारा जारी बिज्ञप्तीमा उल्लेख छ ।

  बिहीबार दिउँसो गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्षामा गालीगलौच गर्दै नेता खड्काले हातपात गरेको गाउँपालिकाले जारी गरेको विज्ञप्तीमा उल्लेख गरिएको छ । गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत टेक बहादुर खड्काद्वारा हस्ताक्षर गरिएको विज्ञप्तीमा दोषी उपर कडा कारबाहीको माग राख्दै घटनाको घोर भत्सर्ना गरेको छ ।

   सांसद कोषको रकमबाट छुट्टयाएको २० लाखको योजनाको बिषयलाई लिएर हातपात भएको हो । उक्त खानेपानी योजनाको प्राविधिक मुल्याङ्कन गर्दा ६ लाख ७२ हजार बराबरको मात्रै काम भएको ईन्जिनियर शंकरराज खनालले बताए ।  खानेपानी योजनाका अध्यक्ष खड्काले ५ लाख ७० हजार पेश्की लिएर काम सुरु गरेका थिए ।

 प्राबिधिकले टिप्पणी उठाउँदा त्रुटि हुनगई मसान्तको अन्तमा १२ लाख भुक्तानी दिईएको थियो । ‘प्राबिधिक त्रृटीका कारण १२ लाख भुक्तानी भएको छ तर काम ६ लाख ७२ हजारको मात्रै भएको छ’ –इन्जिनियर खनालले भने –‘उपभोक्ता समितिले श्रमदानको ८८ हजार घटाएर ५ लाख ८४ हजार जती भुक्तानी हुनुपर्ने हो त्यसमा ५ लाख ७० हजार पेस्की लिईसकेका कारण २० हजारको आसपासमा मात्रै भुक्तानी पाउनुपर्ने हो, बढी भुक्तानी लिएको रकम उपभोक्ता समितिले फिर्ता गर्नुपर्छ भनेपछि म माथी हातपात गरियो ।’