धनगढी पोष्ट
बुधबार, १२ भदौ २०८१ मा प्रकाशित
धनगढी । नेपाली कांग्रेसकी नेतृ तथा परराष्ट्रमन्त्री डा.आरजु राणा देउवाले गौरा पर्वले समाजलाई एक सूत्रमा बाँधेको बताएकी छन् । गौरा पर्व मनाउन धनगढी पुग्नुभएकी मन्त्री राणाले गौराको पूजाअर्चनापछि सञ्चारकर्मीहरूसँग प्रतिक्रिया दिँदै यस्तो बताएकी हुन् ।
उनले गौरा पर्वलाई समृद्धिको पर्वको रूपमा समेत रहेको बताइन् । हरेक वर्ष गौरा पर्व मनाउन आफू धनगढीस्थित घरमा आउने गरेको बताउनुहुँदै उनले भनीन, धनगढी घरमा हामी हरेक वर्ष गौराको पूजाअर्चना गर्दै आएका छौँ । यही अवसरमा यसपटक पनि गौरा पूजनका लागि धनगढी आएको छु ।
शनिबारदेखि आफूले गौराको व्रत बसेको बताउँदै उनले कार्य व्यस्तताका कारण यसपटक गौरा विसर्जन गर्न धनगढी पुगेको बताइन् ।
गौराले सामाजिक एकता र भाइचाराको सम्बन्ध कायम गरेको समेत मन्त्री राणाले बताइन् ।
मन्त्री राणालाई बुधबार बिहान धनगढी विमानस्थलमा कार्यकर्ता तथा समर्थकले भव्य स्वागत गरेका थिए ।