धनगढी पोष्ट शुक्रबार, ०७ मङि्सर २०८१   November 22, 2024

‘प्रचण्डजीले जे मन लाग्यो त्यहीँ गर्न थाल्नुभयो, त्यसैले कांग्रेस–एमाले मिल्यौँ’

‘प्रचण्डजीले जे मन लाग्यो त्यहीँ गर्न थाल्नुभयो, त्यसैले कांग्रेस–एमाले मिल्यौँ’

धनगढी । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं प्रवक्ता डा.प्रकाशशरण महतले मुलुकलाई अस्थिरताबाट जोगाउन कांग्रेस–एमाले मिलेको बताएका छन् ।

नेपाल प्रेस युनियन डडेल्धुराले जिल्ला सदरमुकाममा आयोजना गरेको पत्रकार सम्मेलनमा प्रवक्ता महतले स्थिरताका लागि दुई ठूला दल मिलेको बताएका हुन् ।

‘प्रचण्डजीले सरकार चलाउने नाममा जे मन लाग्यो त्यही गर्न थाल्नुभयो,’ महतले भने, ‘उहाँले पटकपटक समीकरण परिवर्तन गर्न थाल्नुभयो ।

कहिले एमाले त कहिले कांग्रेससँग मिलेर प्रधानमन्त्री बन्न थाल्नुभयो । जहाँ सजिलो लाग्छ त्यतै जान लाग्नुभयो । त्यसैले कांग्रेस र एमाले मिलेर सरकार बनाएका हौँ ।’

नेता महतले अहिलेको समीकरणलाई धेरैले स्वाभाविक नभएको बताए पनि कांग्रेस र एमालेको समीकरण परिस्थितिले बनाएको बताए । ‘हामी दुई दल मिल्नुको मुख्य कारण स्थिरता नै हो,’ उनले थपे ।

उनले अहिले नेपाली कांग्रेस संगठनलाई बलियो बनाउन जुटेको बताउँदै आउदो निर्वाचनमा एक्लै बहुमत ल्याउने गरी लाग्ने बताए ।

जनतालाई निराशा बनाउने छुट अहिलेको सत्ता गठबन्धनलाई नभएको उनको भनाइ थियो ।

पूर्वअर्थमन्त्रीसमेत रहेका महतले वर्तमान सरकार जनताका सरोकारका विषयवस्तु र सुशासन प्रत्याभूत गराउनमा केन्द्रित हुनुपर्नेमा जोड दिए ।

बीपी कोइरालाको १११औँ जन्मजयन्तीको अवसरमा बीपी प्रतिष्ठानले आयोजना गरेको कार्यक्रमका लागि नेता महत डडेल्धुरा पुगेका हुन् ।

बीपी प्रतिष्ठान डडेल्धुराले मुलुकको समृद्धिमा युवाको भूमिका विषयक प्रशिक्षण कार्यक्रमको आयोजना गरेको छ ।