धनगढी पोष्ट शुक्रबार, ०७ मङि्सर २०८१   November 22, 2024

विद्युतका तार पहिरोसँगै सेती नदी पुगे, यातायात ठप्प

विद्युतका तार पहिरोसँगै सेती नदी पुगे, यातायात ठप्प

बझाङ । नेपाल विद्युत प्राधिकरणको डडेल्धुरा-बझाङ जोड्ने राष्ट्रिय प्रसारण लाइनअन्तर्गत तमैल अगाडीको सुख्खा पहिरो खसेको स्थानमा विद्युतका तार चुँडिदा बिहीबार साँझदेखि बझाङका अधिकांश बस्ती अन्धकार भएका छन् ।

बिहीबार बेलुका तमैल नजिकै रहेको भीर माथिबाट पहिरोसँगै आएका  ढुंगा लाग्दा विद्युतका तार  चुँडिएका हुन् ।

चुँडिएका तार पहिरोसँगै सेती नदी पुगेको वितरण केन्द्र बझाङले जनाएको छ । बिहीबार पहिरो निरन्तर खसेकाले विद्युत सुचारु गर्न नसकिएको वितरण केन्द्र बझाङका प्रमुख सुजन खड्काले बताए ।

उनका अनुसार यसअघि पटकपटक अवरुद्ध भएको त्यो ठाउँबाट अन्त सार्ने सम्भावना खोजी गरे पनि सेती पारी सम्भव देखिएको छैन । अबरुद्ध विद्युत आज सुचारु गरिने वितरण केन्द्र बझाङले जनाएको छ ।

विद्युतका कर्मचारी बिहानैदेखि फिल्डमा खटिसकिएको तर कैलाली, डडेल्धुरा पनि विद्युत नभएकाले बझाङ त्यहाँ आपूर्ति भएपछि मात्रै बझाङ विद्युत सुचारु हुने वितरण केन्द्र प्रमुख खड्काको भनाइ छ । 

यस्तै बिहाबार बिहान तमैल नजिकै भीर र जालेवगरमा पहिरो जाँदा अवरुद्ध बनेको जयपृथ्वी राजमार्ग दिउँसो खुलाइए पनि बेलुका पुनः पहिरो जाँदा आवागमन ठप्प बनेको छ । जयपृथ्वी राजमार्ग अवरुद्द हुँदा बिहीबार साँझदेखि बझाङमा यातायात आवागमन ठप्प भएको हो ।

अबिरल वर्षाका कारण पहिरो लगातार झरिरहेकाले आवतजावत गर्न समेत समस्या भएको जनाइएको छ । जिल्ला प्रशासन कार्यालय बझाङका अनुसार लगातारको वर्षाका कारण जेसिबी चालकसँग सम्पर्क हुन सकिरहेको छैन । यस बर्खायाम सुरू भएसँगै जयपृथ्वी राजमार्ग ४५ भन्दा बढी पटक अवरुद्ध भइसकेको छ।