धनगढी पोष्ट शुक्रबार, ०७ मङि्सर २०८१   November 22, 2024

जयपृथ्वी राजमार्ग पहिरोले अवरुद्ध

जयपृथ्वी राजमार्ग पहिरोले अवरुद्ध

बझाङ । छबिसपाथिभेरा १ सुङगाला तथा बालुवाटारमा ठूलो पहिरो खस्दा खोड्पे-बझाङ जोड्ने जयपृथ्वी राजमार्ज पूर्वरूपमा ठप्प भएको छ ।

आज बिहान पहिरो खस्दा बझाङ जिल्लाबाट बाहिरिने र भित्रिने सवारीसाधन सडकमै रोकिएका छन् भने यात्रु अलपत्र परेका छन् । 

पहिरोले सडक पुरेको र अझैं पनि पहिरो खसिरहेकाले सडक खुलाउन समस्या भइरहेको बझाङका सहायक प्रमुख जिल्ला अधिकारी सत्य कुमारी जोशीले बताए ।

उनका अनुसार पहिलेदेखि सानो ठूलो पहिरो खसिरहेको उक्त स्थानमा गयराती ८:३७ बजे खप्तडछान्ना गाउँपालिका - ७ गडाराय केन्द्रबिन्दु बनाएर गएको ३।७ म्याग्निच्युडको भुकम्पले हल्लाउँदा ठूलो पहिरो खसेको हुन सक्छ । 

जयपृथ्वी राजमार्ग छबिसपाथिभेरा-१ को जालेबगर, तमैल बजार वरपरका भीर र बालुवाटारमा बढी अवरुद्ध हुने गरेको छ । अवरुद्ध सडक खुलाउन धेरै समय लाग्ने गरेको यात्रुहरूले गुनासो गरेका छन् । 

सडक डिभिजन बैतडीले बझाङका लागि शाखा कार्यालय पनि नराखेको र  बझाङमा फोन नेटवर्क नहुँदा  जेसिबी चालक सम्पर्कमा ल्याउनै मुस्किल हुने गरेको बझाङ प्रहरी प्रमुख तथा डिएसपी युवराज भण्डारीले बताए । उनले भने, ुबझाङमा नेटवर्क नै हुँदैन ।

बैतडी फोन गरेर जेसिबी मगाउनुपर्छ । कहिले इन्धन छैन भन्छन् । केही बिग्रेको छ भन्छन् । यस्तो हाइ अलर्ट गरेको समयमा पनि सडक डिभिजनको चरम लापरबाही हुन थाल्यो । सडक दैनिक अवरुद्ध भइरहेको हुन्छ । उसलाई वास्ता छैन ।ु 

यस्तै बझाङमा तीनदिनदेखि विद्युत र नेपाल टेलिकमको सम्पूर्ण सेवा ठप्प छ । विद्युत, सडक, सञ्चार सेवा बन्द हुँदा बझाङबासी मारमा परेका छन् ।