धनगढी पोष्ट शुक्रबार, ०७ मङि्सर २०८१   November 22, 2024

सुदूरपश्चिमको बजेट भदौ ३१ गते आउने

सुदूरपश्चिमको बजेट भदौ ३१ गते आउने

धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले ३१ गते बजेट ल्याउने भएको छ । मुख्यमन्त्री कमलबहादुर शाहले आज पत्रकार सम्मेलनमा भदौ ३१ गते प्रदेश सरकारको बजेट ल्याउने बताएका हुन् ।

मुख्यमन्त्री शाहले गत असार १ गते सदनमा प्रस्तुत भएको बजेटमा सामान्य पुनरावलोकन गरेर बजेट ल्याउने तयारी गरेको बताए । उनले भने, ‘संवैधानिक र कानुनी प्रक्रियामा रहेर नै बजेट आउँछ ।

यसअघि बजेटको प्राथमिकता, नीति तथा कार्यक्रम सदनबाट पास भइसकेकाले त्यसैको आधारमा नै बजेट आउँछ’ उनले भने ।

प्रदेश सरकारले बजेट निर्माणको लागि निर्धारण गरेको ४ वटा आधारहरू भित्रै रहेर बजेट तयारी गरेको बताउँदै मुख्यमन्त्री शाहले ती आधारले बजेट कार्यान्वयनको पाटोलाई समेत मजबुत बनाउने दाबी गरे ।

सुदूरपश्चिमको बजेट समयमा नआउँदा प्रदेश सरकारका योजनाहरु ठप्प भएका छन् भने प्रदेश सरकार मातहतका कर्मचारीले तलब समेत पाउन सकेका छैनन् ।