धनगढी पोष्ट सोमबार, ०८ बैशाख २०८२   April 21, 2025

पहिराेका कारण पाँच परिवार विस्थापित

पहिराेका कारण पाँच परिवार विस्थापित

बैतडी । लगातारको बर्षाका कारण खसेको पहिरोले बैतडीका पाँच परिवार विस्थापित भएका छन्। जिल्लाको दशरथचन्द नगरपालिका–११ नागार्जुन पड्याबाज भन्ने स्थानमा पाँच घर पहिरोको उच्च जोखिममा परेका हुन्। 

उच्च जोखिममा परेका घरका पाँच परिवार विस्थापित भएका बैतडीका प्रहरी प्रवक्ता,प्रहरी निरीक्षक बलराम पाण्डेयले जानकारी दिए।

घरको आँगन पहिरोले लगेपछि स्थानीय खिमानन्द पन्त, गुमानी पन्त, केशवदत्त पन्त, रगीदत्त पन्त र गोपालदत्त पन्तको घर पहिरोको उच्च जोखिममा परेका हुन्।

उनले भने, ुअहिले पाँचै जनाको परिवार आफन्तको घरमा बसिरहेका छन्। पहिरोले घर भत्कनसक्ने सम्भावना रहेकाले उनीहरू आफन्तको घरमा स्थानान्तरण गरिएको हो।ु 

यस्तै  बुधबार रातिदेखि अविरल बर्षाका कारण खसेको पहिरोले सुर्नया गाउँपालिका वडा नं ६ धुलिधारका अम्बादत्त पन्तको घर जोखिममा परेको छ।  घरको आँगनबाट खसेको पहिरोले बारीमा लगाएको बन्दा नष्ट गरेको छ भने पानीको धारामा समेत क्षति पुगेको छ। 

 पाटनमा सञ्चालनमा रहेको महिला सुरक्षित आवास गृहको भवन पहिरोको जोखिममा परेको छ। भवनको माथिबाट खसेको पहिरोले झ्यालको सिसा फुटाउनुका साथै कोठाभित्र पानी पसेको प्रहरीले जनाएको छ।  

जिल्लाको मेलौली नगरपालिका ६ हतरंगामा पनि पहिरोका कारण दुई घर जोखिममा परेका छन्। घरमाथिबाट खसेको पहिरोले स्थानीय जयदत्त भट्ट र धर्मानन्द भट्टको घर जोखिममा परेको प्रहरीले जनाएको छ। लगातारको वर्षाले यहाँको जनजीवन समेत प्रभावित भएको छ।