धनगढी पोष्ट बुधबार, २१ कार्तिक २०८१   November 6, 2024

अवरुद्ध महाकाली र दशरथचन्द राजमार्ग सञ्चालनमा

अवरुद्ध महाकाली र दशरथचन्द राजमार्ग सञ्चालनमा

बैतडी । लगातारको वर्षापछि खसेको पहिरोका कारण अवरुद्ध बनेको दशरथचन्द राजमार्ग र महाकाली राजमार्ग सञ्चालनमा ल्याइएको छ । 

दशरथचन्द राजमार्गअन्तर्गत बैतडीको दशरथचन्द नगरपालिका १ गुरुखोलामा पहिरो खसेको थियो । महाकाली राजमार्गअन्तर्गत बैतडीको दोगडाकेदार गाउँपालिका ४ सिल्लेक र वडा नं ६ सलसेनामा पहिरो खसेको थियो । 
दुवै स्थानमा खसेको पहिरो पन्छाएपछि आजदेखि यातायातका साधन सञ्चालनमा ल्याइएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक बलराम पाण्डेयले जानकारी दिए । लगातार तीन दिनदेखिको वर्षाले यहाँको जनजीवन प्रभावित भएको छ । 

गत बुधबार बेलुकादेखि लगातार रूपमा वर्षा भइरहेको छ । मौसम पूर्वानुमान महाशाखाले सुदूरपश्चिममा शनिबारसम्म वर्षा हुने प्रक्षेपण गरेको छ । 

जिल्ला प्रशासन कार्यालय बैतडीले लगातार वर्षा भइरहेकाले सतर्कता अपनाउन गरेको छ । रासस