धनगढी पोष्ट शुक्रबार, ०७ मङि्सर २०८१   November 22, 2024

धनगढी उपमहानगरको हसुलिया–अत्तरिया नगर बस सेवा सुरु

धनगढी उपमहानगरको हसुलिया–अत्तरिया नगर बस सेवा सुरु

धनगढी । कैलालीको धनगढी उपमहानगरपालिकाले कैलारीको हसुलियादेखि गोदावरीको अत्तरिया रुटमा नगर बस सेवा सुरू गरेको छ ।

उपमहानगरपालिकाले वडा नम्बर १९ मा रहेको फूलबारी बसपार्कमा आइतबार एक कार्यक्रम गरेर नगर बस सेवाको उद्घाटन गरिएको हो ।  

उपमहानगरपालिकाले ६ वटा बसबाट नगर बस सेवा सुरू गरेको छ । उपमहानगरले नगर बस सेवा चलाउने ठेक्का धनगढीकै के एण्ड के कन्स्ट्रक्सनले पाएको छ ।

असोज १ गतेबाट सुरू हुने नगर बस सेवा बिहान ६ बजेदेखि साँझ ७ बजेसम्म चल्ने छ ।

नगर बसमा विद्यालय खुलेको दिन धनगढीका बाल बिकास शिक्षक शिक्षिकाले भने निःशुल्क यात्रा गर्न पाउनेछन् ।

धनगढी उपमहानगरपालिकाले खरिद गरेको ६ बसबाट कैलारी गाउँपालिकाको केन्द्र हसुलिया–धनगढी र गोदावरीको अत्तरियासम्म नगर बस सेवाको रुट तोकिएको छ ।

धनगढीकै के एण्ड के कन्स्ट्रक्सनले वार्षिक २८ लाख ८८ हजार ९१९ रुपैयाँमा नगर बस सेवा चलाउने ठेक्का पाएको उपमहानगरका राजश्व शाखा प्रमुख डिल्लीराज ओझाले बताए । 

उनले करिब सात किलोमीटर दुरीमा २० रुपैयाँ तिरेर नगर् बसमा यात्रा गर्न पाइने बताए । २०८१ असोज १ गतेदेखि सुरू हुने नगर बस सेवाको न्यूनतम भाडादर २० रुपैयाँ तोकिएको छ ।

नगर बस सेवा बिहान ६ बजेदेखि साँझ ७ बजेसम्म नियमित रुपमा सञ्चालन हुनेछ । हरेक दिन हसुलियाबाट ६ बजे बस छुट्ने छ । त्यसपछि हरेक ३० मिनेटको अन्तरालमा बस छुट्ने व्यवस्था मिलाइने छ । 

फूलबारीमा अस्पताल निर्माण, खेलकुद ग्रामको विकास, भोकेस्नल तालिम केन्द्र, गौशाला निर्माण जस्ता विकास निर्माणका काम गर्न उपमहानगर अग्रसर रहेको नगर प्रमुख गोपाल हमालले बताए । 

नगर बस सञ्चालन भएपछि सर्वसाधारणले ठिक समयमा धनगढी ओहोरदोहोर गर्न पाउने भएका छन् । स्थानीय किसानले आफ्नो कृषि उत्पादन सहजै बजारसम्म पुगाउन नगर बस सेवाको सञ्चालनले सहयोग पुग्ने विश्वास गरिएको छ ।