धनगढी पोष्ट शुक्रबार, ०७ मङि्सर २०८१   November 22, 2024

व्यवस्थासँगै अवस्थामा पनि परिवर्तन भइरहेको छ : उपप्रधानमन्त्री सिंह

व्यवस्थासँगै अवस्थामा पनि परिवर्तन भइरहेको छ : उपप्रधानमन्त्री सिंह

धनगढी । उपप्रधानमन्त्री एवं सहरी विकास मन्त्री प्रकाशमान सिंहले विगतका सरकारहरूले भन्दा राम्रो काम गर्नेगरी अहिलेको सरकारले कामलाई अघि बढाइरहेको बताएका छन्। उनले जनअपेक्षाअनुसार शिक्षा, स्वास्थ्यलगायतका क्षेत्रमा सरकारले राम्रो काम गर्न खोजेको बताए।

‘जनचाहनाअनुसार विकास निर्माणका साथै शिक्षा, स्वास्थ्य लगायत क्षेत्रमा पनि अहिलेको सरकारले विगतका सरकारहरूले भन्दा राम्रो काम गर्न ध्यान केन्द्रित गरेको छ,’ धनगढी उपमहानगरपालिकाको १०औं स्थापना दिवसका अवसरमा मंगलबार भएको कार्यक्रममा उपप्रधानमन्त्री सिंहले भने।

उनले स्थानीय तह, प्रदेश र संघीय सरकारले आवश्यक कानुनहरू बनाएर जनअपेक्षाअनुसार काम गर्नुपर्नेमा पनि जोड दिएका छन्। उनले व्यवस्थासँगै अवस्थामा पनि परिवर्तन आएको उल्लेख गरे।

‘व्यवस्था परिवर्तन भयो तर अवस्थामा परिवर्तन भएन भन्ने भास्य बनाउन खोजिँदैछ, तर त्यस्तो होइन,’ उनले भने, ‘२०४६ सालअघि धनगढीकै अवस्था कस्तो थियो, अहिले कस्तो छ तुलना गरेर हेरौं न, परिवर्तन त भएका छन् नि।’

उनले सडक, खानेपानी, शिक्षा र स्वास्थ्यलगायत क्षेत्रमा पहिलेकोभन्दा तुलनात्मकरूपमा अहिले राम्रो हुँदै गएको पनि बताएका छन्।

‘हामी आफैंले परिवर्तन महसुस गरेका छौं भने त्यो अवस्थामा परिवर्तन भएको हो नि,’ उनले भने। सरकार घरीघरी परिवर्तन भइरहँदा नैराश्यता देखिएकोले संघीय संसदका दुई ठूला दल कांग्रेस र एमाले मिलेर अहिलेको सरकार बनाइएको सिंहले बताए।