धनगढी पोष्ट
बिहिबार, ०३ असोज २०८१ मा प्रकाशित
धनगढी । कैलाली कारागारमा युवकको मृत्यु भएको घटनामा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । ३१ भदौमा शौचालयमा लडेको अवस्थामा भेटिएका घोडाघोडी नगरपालिका–४ का २२ वर्षीय दिपक विकको उपचारका क्रममा सेती प्रादेशिक अस्पतालमा मृत्यु भएको थियो ।
उक्त घटनाको अनुसन्धानका लागि प्रहरीले उनकी प्रेमिका भनिएकी १४ वर्षीया किशोरीलाई पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक पदमबहादुर विष्टले ती किशोरीलाई पक्राउ गरेर अनुसन्धान गरिरहेको जानकारी दिए ।
उनै किशोरीलाई जबरजस्ती करणी गरेको मुद्दामा दिपक पुर्पक्षका लागि कैलाली कारागार चलान भएर बन्दी जीवन बिताइरहेका थिए ।
कतिपयले विकको कारागारभित्र कुटपिट गरेर हत्या भएको दाबी गरेपनि घटनाको वास्तविकता भने फरक रहेको प्रहरीको भनाइ छ ।
कैलालीका प्रमुख प्रहरी उपरीक्षक पदमबहादुर विष्टले प्रारम्भिक अनुसन्धानका क्रममा विकको सलपास नामक विषादी सेवनबाट मृत्यु भएको देखिएको बताए ।
उक्त विषादी प्रेमिकामार्फत नै विकको हातमा पुगेको अनुसन्धानका क्रममा देखिएको प्रहरीको भनाइ छ ।
प्रहरी स्रोतकाअनुसार विकको ३४ पृष्ठ लामो सुसाइड नोट समेत फेला परेको छ । त्यसमा विकले अब अर्को जुनीमा रमाउने’ लेखेको प्रहरी स्रोत बताउँछ ।