धनगढी पोष्ट बिहिबार, २९ माघ २०८२   February 12, 2026

पत्रकार महासंघका कार्यबाहक अध्यक्ष रमेशले दिए राजीनामा

पत्रकार महासंघका कार्यबाहक अध्यक्ष रमेशले दिए राजीनामा

काठमाडौं। नेपाल पत्रकार महासंघका कार्यबाहक अध्यक्ष रमेश विष्टले राजीनामा दिएका छन् ।

सदस्यता शुद्धीकरणमा देखिएको जटिलताबाट निर्वाचन सम्पन्न हुन नसकेपछि विष्टले राजीनामा दिएका हुन् ।

यसअघि महासंघका अध्यक्ष पदबाट विपुल पोखरेलले राजीनामा दिएपछि विष्ट कार्यवाहक अध्यक्ष बनेका थिए ।  

उनले राजीनामाको बोधार्थ महासंघका उपाध्यक्ष बाला अधिकारी र महासचिव रोशन पुरीलाई  दिएका छन् ।

उनले महासंघको विधि विधान र संरचनालाई लत्याएर पत्रकारिता नगरेका र फारम नभरेका करिब ४ सय व्‍यक्तिलाई सदस्यता दिएको असन्तुष्ट हुँदै राजीनामा दिउको विज्ञप्तिमा उल्लेख गरेका छन्।

कार्यवाहक अध्यक्ष विष्टले विहीबार महासंघको केन्द्रीय निर्वाचन समितिलाई पत्र पठाउँदै आसन्न निर्वाचनका कार्यक्रम हाललाई स्थगित गर्न अनुरोध गरेका थिए ।

उनको पत्रपछि केन्द्रीय निर्वाचन समितिले निर्वाचन कार्यक्रम अनिश्चितकालका लागि स्थगित गरिएको जनाएको छ ।

नेपाल पत्रकार महासंघको नयाँ नेतृत्व चयनका लागि यही असोज १२ गते मतदान गर्ने कार्यतालिका थियो ।

त्यसका लागि उम्मेदवारको मनोनयन दर्ता असोज ४ गते (आज) निर्धारण गरिएको थियो । तर विवादका कारण महासंघको नयाँ नेतृत्व चयन अनिश्चित बनेको छ ।