धनगढी पोष्ट शुक्रबार, ०७ मङि्सर २०८१   November 22, 2024

छानबिन विशेष समितिको प्रतिवेदनलाई कार्यान्वयनमा लैजानुपर्छ : प्रवक्ता महत

छानबिन विशेष समितिको प्रतिवेदनलाई कार्यान्वयनमा लैजानुपर्छ : प्रवक्ता महत

धनगढी । नेपाली काँग्रेसका प्रवक्ता डा.प्रकाश शरण महतले सहकारी रकम अपचलन प्रकरणमा सरकारले संसदीय छानविन विशेष समितिको प्रतिवेदनलाई कार्यान्वयनमा लैजानुपर्ने बताएका छन् । 

नेपाल प्रेस युनियन कैलालीद्वारा आज धनगढीमा आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता डा.महतले विशेष समितिको सिफारिसअनुसार सहकारीको रकम अपचलन गर्नेमाथि सरकारले कानुनी कारबाही अघि बढाउनुपर्ने बताए । 

उनले सहकारी प्रकरणमा गोर्खा मिडियाका सञ्चालक (रवि लामिछानेसहित चार जना) को संलग्नता रहेको ठहरसहित समितिले प्रचलित कानुन बमोजिम कारबाहीका लागि सिफारिस गरेको उल्लेख गरे । 

उच्च समझदारीका साथ काँग्रेस र एमालेको सत्ता गठबन्धन अघि बढिरहेको उल्लेख गर्नुहुँदै प्रवक्ता डा.महतले दुई दलको सत्ता समीकरण पूरै अवधि चल्ने बताए ।

संविधान संशोधन, सुशासन, विकास र अर्थतन्त्रलाई गतिशीलता दिने गरि वर्तमान सरकार गठन भएको उनले बताए । 

पत्रकारको जिज्ञासामा प्रवक्ता डा.महतले गेटा मेडिकल कलेजलाई स्वास्थ्य विज्ञान विश्वविद्यालय बनाउने प्रक्रियामा जाँदा ढिलाइ भएको बताए ।

उनले काँग्रेसलाई थप सशक्त बनाउदै २०८४ मा एकल बहुमत ल्याउने गरि एक महिने अभियान थालनी गरिएको बताए ।