धनगढी पोष्ट शुक्रबार, ०७ मङि्सर २०८१   November 22, 2024

हत्याको एक बर्षपछि आरोपित  आरोपी

हत्याको एक बर्षपछि आरोपित  आरोपी

धनगढी । धनगढी उपमहानगरपालिका वडा नम्बर ६ स्थित सरस्वती सामुदायिक वनमा एक वर्षअघि महिला मृत फेला परेको घटनामा दुई जना पक्राउ परेका छन् ।

२०८० मंसिर ६ गते सरस्वती सामुदायिक वनमा डडेल्धुराको अमरगढी गाउँपालिका वडा नम्बर २ घर भई धनगढी वडा नम्बर ४ बस्दै आएकी ३१ वर्षीया मुस्कान भनिने बीमा थापा मगर मृत भेटिएको घटनामा दुई जना पक्राउ परेका हुन् । 

पक्राउ पर्नेमा धनगढी उपमहानगरपालिका वडा नम्बर ५ बस्ने २८ वर्षीय सञ्जीव चौधरी र ३० वर्षीय जनक देउवा रहेको जिल्ला प्रहरी कार्यालयले आइतबार पत्रकार सम्मेलन गरेर जानकारी दिएको हो । 

उनीहरु मध्ये चौधरी सीमावर्ती भारतीय बजार गौरीफन्टाबाट र देउवालाई धनगढीबाटै पक्राउ परेका जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख प्रहरी उपरीक्षक पदमबहादुर विष्टले जानकारी दिए ।

प्रहरी उपरीक्षक विष्टका अनुसार २०८० कात्तिक २९ गते राति जनक देउवाको घरमा उनीहरु दुई जनाले लागूऔषध सेवन गरेका थिए । उनीहरुले राति नै मृतक महिलालाई देउवाको घरमा बोलाएका थिए । उनीहरुले यौन सम्बन्ध राख्नुका साथै कुटपिट पनि गरेको पाइएको प्रहरीले जनाएको छ । 

बिहान उठ्दा महिला बेहोस अवस्थामा भेटिएपछि स्कुटरमा राखेर उनलाई सरस्वती सामुदायिक वनमा फालेका थिए । प्रहरीले गलिसकेको अवस्थामा थापाको शव भेटिएको थियो ।

शव भेटेपछि प्रहरीलाई सनाखत गर्न गाह्रो भएको थियो । मृतककी साथीले लुगाका आधारमा चिनेपछि प्रहरी परिवारसम्म पुगेको थियो । उनको मृत्युको कारण पत्ता लगाउन पनि प्रहरीलाई समय लागेको थियो । 

प्रहरीले उनले प्रयोग गर्ने मोबाइल नम्बर पत्ता लगाएपछि सिमकार्डको आधारमा उक्त सीम प्रयोग भएको मोबाइलको आइएमइआई नम्बर पत्ता लगाएको थियो ।

उक्त मोवाइलमा सञ्जीव चौधरीले प्रयोग गरेको फेला पारेको थियो । चौधरीकी पत्नीबाट उक्त मोवाइल बरामद भएपछि प्रहरीले उनको खोजी सुरु गरेको थियो । सञ्जीव भारतमा बस्दै आएको पाएपछि प्रहरीले उनकी श्रीमतीमाथि निगरानी बढाएको थियो । 

असोज ५ गते चौधरीकी श्रीमती पनि भारत गइरहेको सूचनाका आधारमा कैलाली प्रहरीको सादा पोशाकको टोलीले उनलाई पछ्याएको थियो ।
सोही क्रममा सीमावर्ती भारतीय बजारबाट चौधरीलाई पक्राउ गर्न सफल भएको प्रहरी उपरीक्षक विष्टले बताए ।

चौधरीले दिएको बयानका आधारमा देउवालाई समेत धनगढीबाट पक्राउ गरिएको हो । उनीहरुमाथि ज्यानसम्बन्धी मुद्दामा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।