धनगढी पोष्ट शुक्रबार, ०७ मङि्सर २०८१   November 22, 2024

दुई महिनामा एक सय ३४ जना बिरुद्ध लागुऔषध मुद्दा

दुई महिनामा एक सय ३४ जना बिरुद्ध लागुऔषध मुद्दा

धनगढी । सुदूरपश्चिम प्रदेशमा चालु आर्थिक वर्ष २०८१÷०८२ को शुरुका दुई महिनामा एक सय ३४ जना बिरुद्ध लागुऔषध सम्वन्धी ८९ मुद्धा दर्ता भएका छन् । आर्थिक वर्षको साउन र भदौमा मुद्दा चलाइएका मध्य एक सय ३० जना पुरुष र चार जना महिला रहेका छन् । 

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीका प्रवक्ता एवम् प्रहरी वरिष्ठ उपरीक्षक श्याम कृष्ण अधिकारीका अनुसार चालु आर्थिक वर्षमा लागुऔषधको कारोबार तथा सेवनमा सबै भन्दा बढी कैलालीमा ५४ मुद्दामा संलग्न ८१ जना पक्राउ परेका छन् । 

कञ्चनपुरमा २१ मुद्दामा ३३ जना, अछाममा चार मुद्दामा पाँच जना, दार्चुलामा चार मुद्दामा सात जना, बझाङमा तीन मुद्दामा चार जना र बैतडीमा तीन मुद्दामा चार जना पक्राउ परेका छन् भने डडेल्धुरा, बाजुरा, डोटीमा मुद्दाको संख्या शून्य रहेको छ । 

उनीहरुको साथबाट विभिन्न खालका लागुऔषध दुई सय ६६ ग्राम ६६ मिलीग्राम गाँजा, ४२ किलो नौ सय ३४ ग्राम आठ सय सात मिलीग्राम चरेश र ६१ ग्राम आठ सय ७४ मिलीग्राम हिरोईन बरामद गरिएको प्रदेश प्रहरी कार्यालयको तथ्याङकमा उल्लेख छ । 

सुदूरपश्चिममा तीन वर्षको अवधिमा लागुऔषधको कारोबार तथा सेवनमा एक हजार चार सय ३८ मुद्दामा दुई हजार तीन सय १५ जना पक्राउ परेका छन् । प्रदेश प्रहरी कार्यालय धनगढीका अनुसार आर्थिक वर्ष २०८०÷०८१ मा लागुऔषध सम्बन्धी पाँच सय ४५ मुद्दामा सात सय ९६ जना पक्राउ परेका छन् । 

सो अवधिमा सबै भन्दा बढी कैलालीमा लागुऔषध सम्बन्धी तीन सय १६ मुद्दामा चार सय ४१ जना पक्राउ र कञ्चनपुरमा एक सय ८८ मुद्दामा दुई सय ८७ जना पक्राउ परेका छन् । 

डडेल्धुरामा १४ मुद्दामा १९ जना, बझाङमा पाँच मुद्दामा नौ जना, बाजुरामा तीन मुद्दामा पाँच जना, डोटीमा चार मुद्दामा ६ जना, दार्चुलामा नौ मुद्दामा २० जना बैतडीमा तीन मुद्दामा चार जना र अछाममा तीन मुद्दामा पाँच जना पक्राउ परेको प्रदेश प्रहरीको तथ्याङक छ । पक्राउ पर्नेमा सात सय ३४ पुरुष र ५१ जना महिला गरेर सात सय ९६ जना पक्राउ परेका छन् । 

उनीहरुको साथबाट ९३ किलो पाँच सय ९२ ग्राम ६  सय ३१ मिलीग्राम गाँजा, ८२ किलो २१ ग्राम दुई सय तीन मिलीग्राम चरेश र आठ सय २६ ग्राम तीन सय ५७ मिलीग्राम हिरोईन बरामद गरेको तथ्याङकमा छ । 

आर्थिक वर्ष २०७९÷०८० मा लागुऔषध सम्बन्धी पाँच सय ४० मुद्दामा आठ सय ५६ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा कैलालीमा तीन सय ४८ मुद्दामा पाँच सय १८ जना, कञ्चनपुरमा एक सय ५९ मुद्दामा दुई सय ९२ जना, डडेल्धुरामा सात मुद्दामा नौ जना बझाङमा दुई मुद्दामा तीन जना, बाजुरामा एक मुद्दामा एक जना, डोटीमा चार मुद्दामा सात जना, दार्चुलामा पाँच मुद्दामा पाँच जना, बैतडीमा नौ मुद्दामा १४ जना र अछाममा पाँच मुद्दामा सात जना पक्राउ परेका छन् । 

पक्राउ पर्नेमा सात सय ७३ पुरुष र ६६ जना महिला गरेर आठ सय ६ जना पक्राउ परेको तथ्याङक छ । 

उनीहरुको साथबाट ५० किलो पाँच सय ६ ग्राम पाँच मिलीग्राम गाँजा, एक सय नौ  किलो सात सय १४ ग्राम पाँच सय ६५ मिलीग्राम चरेश र एक किलो चार सय ३२ ग्राम चार सय ६२ मिलीग्राम हिरोईन बरामद गरेको प्रदेश प्रहरी कार्यालयले जनाएको छ । 

यस्तै आर्थिक वर्ष २०७८÷०७९ मा लागुऔषध सम्बन्धी तीन सय ५३ मुद्दामा पाँच सय ६३ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा कैलालीमा दुई सय एक मुद्दामा तीन सय १४ जना, कञ्चनपुरमा एक सय ४३ मुद्दामा दुई सय ३४ जना, डडेल्धुरामा तीन मुद्दामा तीन जना बझाङमा एक मुद्दामा तीन जना, बाजुरामा दुई मुद्दामा पाँच जना, डोटीमा एक मुद्दामा दुई जना र दार्चुलामा दुई मुद्दामा दुई जना पक्राउ परेका छन् भने बैतडी र अछाममा मुद्दाको संख्या शून्य रहेको छ । 

पक्राउ पर्नेमा पाँच सय २४ पुरुष र २१ जना महिला गरेर पाँच सय ६३ जना पक्राउ परेको प्रदेश प्रहरी कार्यालयले जनाएको हो । 

उनीहरुको साथबाट एक किलो पाँच सय ग्राम एक सय ५५ मिलीग्राम गाँजा, एक सय १२ किलो आठ सय ४० ग्राम दुई सय २८ मिलीग्राम चरेश र एक किलो ५६ ग्राम आठ सय ८५ मिलीग्राम हिरोईन बरामद गरेको प्रदेश प्रहरी कार्यालयको तथ्याङकमा छ । 

प्रवक्ता एवम् प्रहरी वरिष्ठ उपरीक्षक अधिकारीले लागुऔषध नियन्त्रणका लागि प्रदेशभरी नै महाअभियान चलाएको बताए । लागुऔषधमा परेका युवाहरुलाई सुधार गर्नेका लागि आसरा सुधार केन्द्रमा राखेर सुधार गरिरहेको उनले बताए । 

उनले भने, ‘एक अर्काेको लै–लैमा लाग्नाले पनि युवाहरु पछिल्लो समय लागुऔषधमा फर्सेका छन् । खुल्ला सिमा नाकाका कारणले गर्दा पनि लागुऔषधको संख्या बढ्दै गइरहको उनले बताए ।

लागुऔषध सम्बन्धी विद्यालय र समुदायमा विभिन्न किसिमका जनचेतना मुलक कार्यक्रमहरु गर्दै आइरहेको उनको भनाइ रहेको छ ।