धनगढी पोष्ट शुक्रबार, ०७ मङि्सर २०८१   November 22, 2024

छटौँ पटक म्याद थप गर्दा समेत बनेन कोल्ड स्टोर

छटौँ पटक म्याद थप गर्दा समेत बनेन कोल्ड स्टोर

धनगढी । कैलालीको धनगढी उपमहानगरपालिका वडा नम्वर १८ मा निर्माणाधिन कोल्ड स्टोरको छटौँ पटक म्याद थप गर्दा समेत निर्माण हुन सकेको छैन् । कोल्ड स्टोर निर्माणकार्य सुरु भएदेखि हालसम्म छटौँ पटक म्याद थप गर्दा समेत निर्माण कार्य सम्पन्न हुन नसकेको हो । 

संघीय आयोजना कार्यान्वयन एकाई कैलालीका सूचना अधिकारी सौरभ कलौनीका अनु्सार डिजाइन परिवर्तन, कोभिड महामारी लगायतका कारणले निर्माण कार्यमा ढिलाई भएको स्वीकार गरेका छन् । हालसम्म ८५ प्रतिशत काम सम्पन्न भइसकेको उनले बताए । 

कोल्ड स्टोर निर्माण गर्न २०७५ मंसिर १८ गते रबिना कन्ट्रक्सन प्रा.लि सँग २०७७ मंसिर १७ गते (२४ महिना) भित्रै काम सम्पन्न गर्ने गरी ठेक्का सम्झौता भएको थियो ।

संघिय अयोजना अन्तरर्गत १० करोड ४९ लाख ७३ हजार रुपैयाँ लागतमा कोल्ड स्टोर निर्माण सम्पन्न गर्ने गरी रबिना कन्ट्रक्सन प्रा.लि सँग सम्झौता भएको थियो । 

कोल्ड स्टोरको पहिलोपटक डिजाइन परिवर्तन हुँदा ६ महिना म्याद थप, पहिलो कोभिड महामारीमा ६ महिना, दोश्रो कोभिडमा साढे चार महिना, तेस्रो कोभिडमा ६ महिना र कार्यक्रम छुट हुँदा १० महिना गरेर पाचौँ पटक सम्म म्याद थप गर्दा समेत कोल्ड स्टोर निर्माण हुन सकेन । 

पाचौँ पटक सम्म म्याद थप गर्दा समेत कोल्ड स्टोर समयमै निर्माण हुन नसकेपछि तेह्रो संसोधनसहित २०८१ बैशाखदेखि चैत मसान्तसम्म निर्माण कार्य सम्पन्न गर्ने गरी छटौँ पटक म्याद थप गरिएको संघीय आयोजनाले जनाएको छ । 

सूचना अधिकारी कलौनीले अब थपिएको म्याद भित्रै निर्माण कार्य सम्पन्न हुने बताए । बाँकी १५ प्रतिशत काम मेसिनहरु जडान गर्ने कार्य मात्रै बाँकी रहेको उनले बताए । ठेक्का सम्झौताको हालसम्म ६ करोड रुपैयाँ (६० प्रतिशत) जति खर्च समेत भइसकेको उनले बताए ।

निर्माण कम्पनिले भुक्तानीका लागि दुई करोड (२० प्रतिशत) जतिको बिल पेश गरेको र बाँकी (२० प्रतिशत) भुक्तानी निर्माण कार्य सम्पन्न पछि हुने उनको भनाइ रहेको छ । 

धनगढी उपमहानगरपालिका वडा नम्बर १८ का वडाध्यक्ष भुवन रिजालले समयमै निर्माण सम्पन्न गर्नेका लागि वडाबाट आयोजना कार्यालय र निर्माण कम्पनीलाई पटक–पटक ताकेता गरिरहेको बताए । आफूहरुले पटक–पटक निर्माण कम्पनीलाई दबाब दिदा पनि अहिलेसम्म सुनवाई नगरेको उनले बताए । 

समयमै कोल्ड स्टोर निर्माण नहुँदा स्थानीय किसानहरुले उत्पादन गरेका कृषीजन्य बस्तुहरु संरक्षण गर्न नपाएको उनको भनाइ रहेको छ ।

वडालाई कृषिको हप्प बनाउने योजना भएकाले आफू कोल्ड स्टोर छिटो भन्दा छिटो  निर्माणका सम्पन्न गर्नेका लागि रहेको उनल बताए । 

रबिना कन्ट्रक्सन प्रा.लिका प्रमुख रामगोपाल श्रेष्ठले संरचनाको काम करिब सम्पन्न भइसकेको र अब मेसिन मात्र जडान गर्न बाँकी रहेको बताए ।

मेसीन निर्माणको लागि तयारी भइरहेको उनले बताए । उनले अबको २÷३ महिनामा सम्पुर्ण कार्य सकिने बताए ।