धनगढी पोष्ट
शनिबार, १० साउन २०७७ मा प्रकाशित
धनगढी
सुदूरपश्चिम प्रदेशको पहाडी जिल्ला बैतडीमा १३ दिनपछि पुनः ३ जनामा कोरोना संक्रमण पुष्टी भएको छ ।
बैतडीमा शनिबार पुनः ३ जनामा कोरोना पुष्टी भएको स्वास्थ्य कार्यालय बैतडीका सूचना अधिकारी भुवन जोशीले बताए । बैतडीमा असार २९ गतेपछि कुनै पनि व्यक्तिमा कोरोना संक्रमण पुष्टी भएको थिएन ।
शनिबार कोरोना भेटिनु अघिसम्म बैतडीमा कोरोना पुष्टी भएका सवै १ सय ९६ जना कोरोना संक्रमण मुक्त भएर घर फर्किसकेका छन् ।
कोरोना पुष्टी भएकाहरुमा पाटन नगरपालिकाका एक पुरुष र सुर्नया गाउँपालिकाका दुई पुरुष रहेको सूचना अधिकारी जोशीले बताए । ‘बैतडीमा १३ दिन यता नयाँ व्यक्तिमा संक्रमण पुष्टी भएको थिएन ।’ सूचना अधिकारी जोशीले भने–‘कोरोना संक्रमण पुष्टी भएका अन्तिम व्यक्ति साउन ५ गते निको भएर घर गएका हुन् ।’
बैतडीका विभिन्न पालिकाबाट १ सय ९६ जनाको स्वाव संकलन गरी कोरोना परिक्षणका लागि डडेल्धुरा प्रयोगशाला र सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा पठाइएकोमा अझै केहीको नतिजा आउन भने बाँकी रहेको उनले बताए ।