धनगढी पोष्ट
शुक्रबार, ११ असोज २०८१ मा प्रकाशित
धनगढी । सुदूरपश्चिमका आठ जिल्लामा चाडपर्व लक्षित सुपथ मूल्यको सहुलियत पसल सञ्चालन गरिएको छ ।
खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड प्रादेशिक कार्यालय धनगढीले प्रदेशका ११ ठाउँमा सुपथ मूल्यको सहुलियत पसल सञ्चालन गरेको हो ।
खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड प्रादेशिक कार्यालय प्रमुख इन्जिला बस्नेतले उपभोक्तालाई सहुलियत दरमा उपभोग्य वस्तु उपलब्ध गराउने र बजारलाई नियन्त्रण गर्ने उद्देश्यले सुपथ मूल्य पसल सञ्चालन गरेको बताइन् । उनले माघ २ गतेसम्म सुपथ मूल्य पसल सञ्चालनमा रहने बताइन् ।
असोज ७ गते प्रदेशका ११ वटा स्थानमा एकै साथ सुपथ मुल्यको सहुलियत पसल सञ्चालन गरिएको हो ।
धनगढीको मुख्य बजारस्थित बिक्री कक्ष र मोहनपुर गोदाम, खाद्यको शाखा अछाम, शाखा बाजुरा, बाजुराको कोल्टी, शाखा बझाङ, शाखा दार्चुला, डीपो खण्डेश्वरी, शाखा महेन्द्रनगर, गोदाम सिलगढी र गोदाम डडेल्धुरामा सुपथ मूल्य पसल सञ्चालन गरेको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड प्रादेशिक कार्यालय धनगढीले जनाएको छ ।
कम्पनीले अरुवा मोटा चामलको प्रति क्विन्टल पाँच हजार आठ सय रुपैयाँ, स्टिम जिरा मसिनो चामलको प्रति क्विन्टल आठ हजार नौ सय रुपैयाँ र सोना मन्सुली चामलको प्रति क्विन्टल छ हजार रुपियाँमा बिक्री गरिरहेको छ । सबै प्रकारका चामलमा प्रति क्विन्टल पाँच सय रुपियाँ छुट दिइएको छ ।
यस अघि छुट नहुँदा प्रति क्विन्टल अरुवा मोटा चामलको छ हजार तीन सय रुपैयाँ, स्टिम जिरा मसिनो चामलको नौ हजार चार सय रुपैयाँ र सोना मन्सुली चामलको छ हजार पाँच सय रुपैयाँ कायम रहेको थियो ।
प्रादेशिक कार्यालय प्रमुख बस्नेतले सुरु–सुरुमा चामल खासै बिक्री नभए पनि पछि उपभोक्ताहरु बढ्दै जाने बताइन् । सुपथ मूल्य पसलहरुबाट दैनिक दुई सय क्विन्टल चामल बिक्री हुने गरेको उनले बताइन् ।
सुपथ मूल्य पसल सञ्चालनमा आउँदा उपभोक्ताहरुलाई समेत सहज भएको बताएका छन् ।
धनगढीका जगदिश महतो भने, ‘हामी किनेर खाने मान्छेलाई त सहुलियत पसल खुल्दा निकै सहज भए जस्तो लाग्छ । अरु–अरु ठाउँमा किन्दा सय÷पचास रुपैयाँ बढी मूल्य प¥यो भने त्यसमा हामीलाई सय÷पचास रुपैयाँ कमाउन पनि हामीलाई समस्या हुन्छ । त्यही सय÷पचास रुपैया बचत भएर किन पाएपछि हामी खुशी नै छौँ ।’
सरकारले चाडपर्वका बेला मात्रै नभई सधै सहुलियत पसल सञ्चालन गर्नुपर्ने उनले बताए । अझै सहुलियत मूल्यमा सामानहरु उपभोग गर्ने पाए अझै सहज हुने उनले बताए ।
साढे आठ हजार क्विन्टल बिक्री गर्ने लक्ष्य
सुदूरपश्चिमका ११ वटा सहुलियत पसलबाट चाडपर्व अवधिभरि प्रादेशिक कार्यालय धनगढीले आठ हजार पाँच सय क्विन्टल चामल बिक्री गर्ने लक्ष्य लिइएको छ । गत वर्ष आठ हजार क्विन्टल चामल बिक्री गर्ने लक्ष्य लिएको प्रादेशिक कार्यालयले यस वर्ष पाँच सय बढी लक्ष्य लिएको हो ।
धनगढीको मुख्य बजार र मोहनपुरबाट एक हजार क्विन्टल, अछाम शाखाबाट एक हजार क्विन्टल, बाजुरा शाखाबाट एक हजार क्विन्टल, डीपो कोल्टीबाट एक हजार क्विन्टल, बझाङ शाखाबाट दुई सय क्विन्टल, दार्चुला शाखाबाट सात सय क्विन्टल, डीपो खण्डेश्वरीबाट तीन सय क्विन्टल, शाखा महेन्द्रनगर एक हजार क्विन्टल, गोदाम सिलगढी पाँच सय क्विन्टल र गोदाम डडेल्धुराबाट पाँच सय क्विन्टल चामल बिक्री गर्ने कोटा रहेको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड प्रादेशिक कार्यालय धनगढीले जनाएको छ ।
खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड प्रादेशिक कार्यालय प्रमुख इन्जिला बस्नेतले कोटा अनुसार लक्ष्य पूरा हुने विश्वास व्यक्त गरिन् ।
आफूहरुलाई दिएको कोटा पूरा गरेर थप कोटा माग गर्ने गरेको उनले बताइन् । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले प्रत्येक वर्ष सुपथ मूल्य पसल सञ्चालन गर्दै आइरहेको छ ।