धनगढी पोष्ट शुक्रबार, ०७ मङि्सर २०८१   November 22, 2024

आँखा शिविरमा तेह्र सय बढीले सेवा लिए

आँखा शिविरमा तेह्र सय बढीले सेवा लिए

धनगढी । कैलालीको भजनी नगरपालिका र गौरीगंगा नगरपालिकामा संचालित आँखा शिविरमा एक हजार ३२८ जनाले आँखा उपचार सेवा लिएका छन् । 

नेपाल नेत्रज्योति संघ, गेटा आँखा अस्पताल र भजनी नगरपालिकाको आयोजना तथा जेको फाउण्डेशनको सहयोगमा असोज ११ देखि १३ गते सम्म प्राथमिक स्वास्थ्य केन्द्र भजनीमा संचालित आँखा शिविरमा ८२७ जनाले आँखा उपचार सेवा पाएका हुन् ।

जसमध्ये ११५ जनालाई मोतिविन्दुको अप्रेशन गरि गुमाएको दृष्टि पुनः प्रदान गरिएको तथा २ जनाको आँखाको अन्य शल्यक्रिया गरिएको थियो  । 

साथै असोज १२ गते गेटा आँखा अस्पताल र एभरेष्ट युथ फाउण्डेशनको सहकार्यमा जनप्रिय मा वि लिक्मा मसुरियामा संचालित शिविरमा जम्मा ५०१ जनाले आँखा उपचार सेवा लिएका थिए जसमध्ये ७८ जनालाई निःशुल्क अप्रेशनको लागि गेटा आँखा अस्पताल पठाइएको छ । दुबै शिविरमा गरि १३२८ ले उपचार सेवा लिएका छन् । 

आर्थिक अभाव तथा सेवा लिन अस्पताल आउन नसकी शिविरको पर्खाईमा रहेका बिरामीहरु उक्त क्षेत्रहरुमा शिविर संचालन हँुदा लाभान्वित भएका छन् ।

गेटा आँखा अस्पतालका उप निर्देशक डा सुजाता भण्डारीको नेतृत्वमा संचालित आँखा शिविर भजनीमा १६ जना प्राविधिकहरुको टोलीले सेवा प्रदान गरेका थिए भने आँखा शिविर लिक्मा मसुरियामा १० जना प्रविधिकहरुले सेवा प्रदान गरेका थिए । 

उक्त शिविरहरुमा भजनी नगरपालिकाका पदाधिकारीहरु, महिला स्वास्थ्य स्वयं सेविकाहरु तथा नेपाल रेडक्रस सोसाईटीका पदाधिकारीहरु, एभरेष्ट युथ फाउडडेशनका पदाधिकारीहरु तथा स्वयं सेवकहरुले व्यवस्थापनमा महत्वपूर्ण योगदान पुर्याएका थिए । 

प्रदेशको अन्धोपन न्यूनीकरण गर्न गेटा आँखा अस्पतालले प्रत्येक वर्ष अस्पताल तथा यस अन्तरर्गत प्रदेशका ९ वटै जिल्लामा संचालित २७ वटा शाखाहरुबाट उपलब्ध गराईने नियमित उपचार सेवाको अतिरिक्त विभिन्न सरकारी तथा गैर सरकारी सामाजिक संस्थाहरुबाट सहयोग जुटाई यस प्रदेशका ९ वटै जिल्लाहरुमा ग्रामीण क्षेत्र सम्म आँखा उपचार सेवाको पहूँच बढाउन वर्षमा ५० भन्दा बढी स्थानमा आँखा शिविर संचालन गर्दै सेवा पुर्याई रहेको छ ।