धनगढी पोष्ट सोमबार, ०८ बैशाख २०८२   April 21, 2025

महाकालीमा बेपत्ता मजदुर भेटिएनन्, अवस्था अज्ञात

महाकालीमा बेपत्ता मजदुर भेटिएनन्, अवस्था अज्ञात

बैतडी । महाकाली नदीमा लडेर  बेपत्ता भएका मजदुर चारदिनसम्म पनि फेला पर्न सकेका छैनन्।

शुक्रबार बैतडीको पुर्चौडी नगरपालिका ५ कुवाकोटका ३३ वर्षीय अमरसिंह धामी भारतको पिथौरागढबाट मजदुरी गरेर घर फर्किरहेका बेला नेपाल-भारत सीमानजिक बैतडीका दशरथचन्द नगरपालिका ८ झुलाघाटस्थित बसपार्क नजिकैबाट  महाकालीमा लडेर बेपत्ता भएका थिए।

शुक्रबार बिहान ११ बजेतिर जिप चढ्ने तयारी गरिरहेका अमर एक्कासी चिप्लिएर महाकाली नदीमा खसेका हुन्।

बेपत्ता अमरको खोजीका लागि महाकाली किनार क्षेत्रमा सुरक्षाकर्मी परिचालन गरिएको बैतडीका प्रहरी प्रवक्ता,प्रहरी निरीक्षक जनकराज ढुंगानाले जानकारी दिए। अमरको अवस्था अज्ञात छ।

बेपत्ता अमरको खोजीका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी बल महाकाली किनार क्षेत्रमा परिचालन गरिएको छ। यसका साथै   खोजीका लागि भारतीय सुरक्षाकर्मी एसएसबीलाई पनि आग्रह गरिएको छ।

लगातारको वर्षाले महाकालीको बहाव बढ्नुका साथै पानी धमिलो भएकाले  खोजतलासमा समस्या भएको प्रवक्ता ढुंगानाले बताए।

भारतको पिथौरागढमा मजदुरी गरेर  दशैं मनाउन घर फर्किरहेका बेला  महाकालीमा लडेर बेपत्ता भएपछि अमरको घरपरिवार शोकमा डुबेका छन्।