धनगढी पोष्ट शुक्रबार, ०७ मङि्सर २०८१   November 22, 2024

नगर बसमा स्थानीय सररर

नगर बसमा स्थानीय सररर

धनगढी । कैलालीको धनगढी उपमहानगरपालिकाले नगर बस सेवा सुरु गरे सँगै ग्रामीण बस्तीका स्थानीयलाई सहज भएको छ ।

उपमहानगरपालिकाले धनगढीसँग जोडिएको कैलारी गाउँपालिकाको हसुलियादेखि गोदावरी नगरपालिकाको अत्तरियासम्म नगर बस सेवा सुरु गरे सँगै स्थानीयलाई सहज भएको हो ।

फूलबारीकी बासिन्दा गिता भट्टराईले भनिन, ‘घरबाट हामी स्वास्थ्य चौकी जान भनेर आइराथ्यौँ । ठयाकै अटो खोजि राथ्यौँ । नगर बस आयो । नगर बसको पनि केही फाइदा त लिन प¥यो भनेर बसमा बस्यौँ । राम्रो लाग्यो फस्ट टाइम बस्या हो । तर आन्द आयो सररर ।’ 

नगर बस सञ्चालनमा आउँदा थोरै पैसामा ओहोरदोहोर गर्ने सहज भएको उनले बताइन् । अटो रिक्साले नजिकका यात्रुहरुलाई नलिने गर्दा छुटेका यात्रुहरुलाई नगर बसले केही सहज भएको उनले बताइन् । 

उपमहानगरपालिकाले धनगढीसँग जोडिएको कैलारी गाउँपालिकाको हसुलियादेखि धनगढीको फूलबारी, धनगढी मुख्य बजार हुँदै गोदावरी नगरपालिकाको अत्तरियासँग जोड्ने गरी नगरबस भदौ ३० गतेदेखि सञ्चालनमा ल्याएको हो । उपमहानगरले दुई करोड ४८ लाख रुपैयाँको लागतमा ६ वटा बस खरिद गरी सेवा सुरु गरेको हो ।  

नगर बस सञ्चालनका लागि के एण्ड के कन्स्ट्रक्सन धनगढीले वार्षिक २८ लाख ८८ हजार नौ सय १९ रुपैयाँमा ठेक्का पाएको छ ।

२०८१ असोज १ देखि २०९१ भाद्र मसान्तसम्मका लागि सम्झौता भएको हो । नगर बसको न्यूनतम भाडादर २० रुपैयाँ तोकिएको छ । नगर बस बिहान ६ बजेदेखि साँझ ७ बजेसम्म ३० मिनेटको अन्तरालमा चल्नेछ । 

धनगढी वडा नम्बर १४ स्याउले बजारका स्थानीय धर्मराज पडालले नगर बस सेवा सुरु हुँदा सहज सँगै भाडादर पनि सस्तो भएको बताए । ‘पहिला अटोरिक्सामा जाँदा क्यापस रोडमा उत्रिनुपथ्यो । अहिले काँही उत्रिनु पर्दैन । अगाडि सम्म जान पाउने भयौँ । सहज छ सुविधा भयाँ छ,’ उनले भने ।

बस सञ्चालनको समय सुधार गर्नुपर्ने आवश्यक देखिएको उनले बताए । उनका अनुसार ठाउँ–ठाउँमा बस बिसौनीको पनि व्यवस्था भई दिए यात्रुहरुलाई उत्रिन र चढ्न सजिलो हुने थियो । 

धनगढी वडा नम्बर १४ की स्थानीय माता सुनारले भनिन, ‘पहिला क्यापस रोड सम्म अटाले सय रुपैयाँ र सार्वजनिक बसले ५० रुपैयाँ लिन्थ्यो ।

अहिले नगर बसले बुढापाकालाई ३० रुपैयाँमा क्यापसरोडसम्म छोडदिन्छ । त्यसमा २० रुपैयाँ थप्पेपछि चौराहा पुगाइदिन्छ ।’ पहिला सय रुपैयाँमा क्यापसरोड पुगिन्थ्यो भने अहिले ५० रुपैयाँमा चौराहा पुग्ने गरेको उनले बताइन् ।  

नगरप्रमुख गोपाल हमालले नगर बसले निजी सवारी साधन नभएका नागरिकलाई छिटो र सहज यात्राको सुविधा दिने उदेश्यले सञ्चालन गरेको बताए ।

उनका अनुसार नगरको विकासका सबै क्षेत्रलाई जोड्ने सोच अनुरूप नगर बस सेवा सुरु गरिएको हो ।

‘धनगढी लगायत फूलबारी, हसुलिया जस्ता क्षेत्रलाई यातायात, शिक्षा, स्वास्थ्य र कृषिमा समान विकासको उद्देश्यले यो सेवा सञ्चालनमा ल्याएका हौं,’ उनले भने ।