धनगढी पोष्ट शुक्रबार, ०७ मङि्सर २०८१   November 22, 2024

बैतडी-काठमाडौं बस सञ्चालनकाे माग

बैतडी-काठमाडौं बस सञ्चालनकाे माग

बैतडी  । दुई वर्षदेखि बन्द रहेको बैतडी-काठमाडौं बस सेवा पुनः सञ्चालनको माग गरिएको छ। नेपाल विद्यार्थी संघले बैतडी-काठमाडौं  सिधा बस सेवा सञ्चालन गर्न माग गरेको हो। 

दशैँ तिहारलाई लक्षित गरेर बस सेवा सञ्चालन गर्नुपर्ने माग गर्दै जिल्ला प्रशासन कार्यालयमार्फत गृहमन्त्रीलाई ध्यानाकर्षण गराइएको छ।  

नेविसंघका जिल्ला उपाध्यक्ष अमरबहादुर टेरको नेतृत्वमा प्रमुख जिल्ला अधिकारी भीमकान्त शर्मामार्फत गृहमन्त्रीलाई ज्ञापन पत्रमार्फत ध्यानाकर्षण गराइएको  हो।  

दशैँको समयमा काठमाडौंमा अध्ययनरत विद्यार्थीहरू जिल्ला फर्कने भएपनि  बस सेवा नहुँदा समस्या भएको ज्ञापन पत्रमा उल्लेख गरिएको छ।

विद्यार्थीहरूको समस्यालाई ध्यानमा राखेर आफूहरूले ज्ञापनपत्र मार्फत गृहमन्त्री ध्यानाकर्षण गराएको उपाध्यक्ष टेरले बताए। 

दशैँको समयमा काठमाडौंबाट बैतडी फर्कने विद्यार्थीहरूले यातायातका साधनको समस्या झेल्न नपरोस भन्ने आफूहरूको माग रहेको उनले बताए।

विद्यार्थीमात्रै नभएर काठमाडौंबाट बैतडी फर्कने अन्य यात्रुहरूलाई समेत समस्या भएकोले यो बिषयमा सरोकारवालाहरूको ध्यान जानु आवश्यक रहेको उहाँको भनाइ छ।  

 प्रमुख जिल्ला अधिकारी शर्माले प्राप्त ज्ञापनपत्र गृहमन्त्रालय पठाइसकेको बताए। उनले भने,ुज्ञापनपत्रमा माग गरिअनुसार नै गृहमन्त्रालयलाई पठाइकेका छौ। माग सम्बोधन हुन्छ होला।ु

महाकाली यातायात  बहुउद्देश्यीय कम्पनी प्रालिले वि स २०७३ असोजदेखि  पहिलोपटक बैतडी–काठमाडौं एसी बस सेवा सुरु गरेको छ। छ वर्षपछि यात्रु अभावमा बस सेवा बन्द भएको थियो। वि स २०७९ मंसिरदेखि बन्द रहेको बस सेवा हालसम्म पनि सञ्चालन हुन सकेको छैन्। 

यता बस सेवा पुनः सञ्चालन गर्न भने तत्काल सम्भव नरहेको  यातायात व्यवशायीले जनाएका छन्।  

महाकाली यातायात  बहुउद्देश्यीय कम्पनी प्रालिका उपाध्यक्ष विष्णु कडेँलका अनुसार यात्रु नपाउँदा सेवा बन्द भएको हो। उनले भने,ु यात्रु नपाएर छ वर्ष सञ्चालन भएको बस सेवा बन्द भएको हो। पुनः सञ्चालनका लागि सम्भव छैन।ु

यात्रुहरूको मर्कालाई ध्यानमा राखेर बस सेवा गरेको भएपनि पछि  गएर यात्रु नै पाइन छोडेपछि सेवा बन्द भएको उनले बताए। दशैँ तिहारलाई मात्रै लक्षित गरेर बस सेवा सञ्चालन  गर्नका लागि पनि अन्य रूटमै बस जान रूचाउने भएकोले यहाँ सम्भव हुदैन्।

 उनले भने,ु बैतडी(काठमाडौं बस सेवा पुनः सञ्चालनका लागि सूचना आह्वान गर्छौ,तर यात्रु नै नपाइने समस्या रहेकोले सम्भव हुन मुस्किल छ।ु