धनगढी पोष्ट शुक्रबार, ०७ मङि्सर २०८१   November 22, 2024

साढे तीन करोड बढीको सामान बरामद

साढे तीन करोड बढीको सामान बरामद

धनगढी । सुदूरपश्चिममा साढे दुई महिनाको अवधिमा साढे तीन करोड भन्दा बढी मूल्य बराबरको अवैध भन्सार छलीको सामान बरामद गरिएको छ ।

चालु आर्थिक वर्ष २०८१÷०८२ को साउनदेखि असोजको तेस्रो सातासम्म तीन करोड ६९ लाख ४९ हजार हजार मूल्य बराबरको भन्सार छलीको सामान बरामद गरिएको हो । 

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीका प्रवक्ता एवम् प्रहरी वरिष्ठ उपरीक्षक श्याम कृष्ण अधिकारीका अनुसार प्रहरी प्रशासनको सक्रियताले गर्दा भन्सार छलीका सामान बढी भन्दा बढी नियन्त्रण गर्ने सफल भएको बताएका छन् । प्रहरी प्रशासनले  चेकजाँचमा समेत कडाई गर्ने थालेपछि सामानहरु बरामद हुन थालेको उनले बताए । 

सुदूरपश्चिममा चालु आर्थिक वर्ष २०८१÷०८२ को साउनदेखि असोजको दोस्रो सातासम्म सबै भन्दा बढी कैलालीबाट एक करोड ७९ लाख ४४ हजार मूल्य बराबरको भन्सार छलीको सामान बरामद गरिएको छ भने सबै भन्दा कम डडेल्धुराबाट ६० हजार चार सय मूल्य बराबरको सामान बरामद गरिएको हो । 

कञ्चनपुरबाट एक करोड ५१ लाख ७० हजार, बैतडीबाट १८ लाख ५७ हजार, दार्चुलाबाट १७ लाख १२ हजार र अछामबाट दुई लाख तीन हजार मूल्य बराबरको अवैध भन्सार छलीका सामान बरामद गरिएको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीले जनाएको छ ।

चालु आर्थिक वर्षको साउनदेखि असोज दोस्रो सातासम्म सामानसहित कैलालीबाट एक जना र बैतडीबाट पाँच जना गरेर ६ जना पक्राउ समेत परेका छन् । 

गत आर्थिक वर्ष २०८०÷०८१ मा १५ करोड ४५ लाख ३१ हजार मूल्य बराबरको अवैध भन्सार छलीका सामान बरामद गरिएको छ । कैलालीबाट आठ करोड १३ लाख ६९ हजार, कञ्चनपुरबाट ६ करोड २० लाख ४९ हजार, डोटीबाट ४२ लाख २३ हजार, डडेल्धुराबाट एक लाख ३४ हजार, बैतडीबाट ४८ लाख ७४ हजार र दार्चुलाबाट १८ लाख ७८ हजार मुल्य बराबरको अवैध भन्सार छलीका सामान बरामद गरेको प्रदेश प्रहरी कार्यालयले जनाएको छ । अवैध सामानसहित एक सय १० जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा कैलालीबाट ८७ जना, कञ्चनपुरबाट १७ जना, डोटीबाट एक जना, बैतडीबाट तीन जना र दार्चुलाबाट दुई जना पक्राउ परेका हुन् । 

आर्थिक वर्ष २०७९÷०८० मा चार करोड २७ लाख ७३ हजार मूल्य बराबरको भन्सार छलीका सामान बरामद गरिएको छ ।

कैलालीबाट एक करोड ९२ लाख १५ हजार, कञ्चनपुरबाट दुई करोड २८ लाख ९५ हजार, बैतडीबाट चार लाख ३४ र दार्चुलाबाट एक लाख ८६ हजार मुल्य बराबरको अवैध भन्सार छलीका सामान बरामद गरिएको छ ।

अवैध सामानसहित एक सय तीन जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा कैलालीबाट ४५ जना र कञ्चनपुरबाट ५८ जना पक्राउ परेका हुन् । 
यस्तै आर्थिक वर्ष २०७८÷०७९ मा ६ करोड ८० लाख २८ हजार मूल्य बराबरको भन्सार छलीका सामान बरामद गरिएको छ ।

कैलालीबाट पाँच करोड ६५ लाख ८६ हजार, कञ्चनपुरबाट एक करोड १२ लाख ४९ हजार र बैतडीबाट १९ लाख मुल्य बराबरको अवैध भन्सार छलीका सामान बरामद गरेको प्रदेश प्रहरी कार्यालयले जनाएको छ । अवैध सामानसहित कैलालीबाट पाँच जना पक्राउ परेका छन् । 

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता एवम् प्रहरी नायव उपरीक्षक कविन्द्र सिंह बोहराले खुल्ला सिमानाका कारणले गर्दा अवैध भन्सार छलीका सामानहरु बढेको बताए । अवैध सामानलाई रोक्थाम गर्नेका लागि नाकाहरुमा अन्य निकायहरु सँग समन्वय गरेर प्रहरी परिचालन समेत गरेको उनले बताए । 

कैलाली भन्सार कार्यालयका प्रमुख अनन्त प्रसाद तिम्सिनाले चाडपर्व नजिकिए सँगै भन्सार छलीका सामानहरु बढ्दै गइरहेको बताए ।

खुल्ला सिमानाका कारण भारतमा सामानहरु सस्तोमा पाइने भएकाले गर्दा पनि बढेको हुन सक्ने उनले बताए । 

उनका अनुसार चिनी र प्याजहरुमा भारतल निकासी महसुल लगाएकाले गर्दा पनि निकासी गर्दा मंहगो पर्ने भएकाले गर्दा पनि चोरी पैठारी बढेको छ ।

अवैध सामानहरु केही लिलाम गर्ने गरेपनि केही नष्ट समेत गर्ने गरेको उनले बताए । पक्राउ परेका व्यक्तिहरुलाई जरिवाना लिएर छोडने गरेको उनले बताए ।