धनगढी पोष्ट शुक्रबार, ०७ मङि्सर २०८१   November 22, 2024

जनताको सेवा निस्वार्थ भावले गर्न मुख्यमन्त्री शाहको निर्देशन

जनताको सेवा निस्वार्थ भावले गर्न मुख्यमन्त्री शाहको निर्देशन

धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले जनताको सेवा निस्वार्थ भावले गर्न कर्मचारीलाई निर्देशन दिएका छन् । 

बैतडीको पुर्चाैँडी नगरपालिकाको नवनिर्मित प्रशासकीय भवनको बिहीबार उद्घाटन गर्दै मुख्यमन्त्री शाहले जनतालाई सेवा प्रदान गर्न दत्तचित्त भएर लाग्न जनप्रतिनिधि र कर्मचारीलाई आग्रह गरे ।

उनले भने, “जनप्रतिनिधि र कर्मचारीले जनतालाई सेवा दिन कुनै कसर बाँकी राख्नुहँदैन । निस्वार्थ भावनाले जनताको सेवामा खटिनुपर्छ ।”

प्रदेश सरकार सुशासनका क्षेत्रमा काम गरिरहेको उल्लेख गर्दै मुख्यमन्त्री शाहले बिचौलियाका माध्मबाट कुनै पनि योजना तथा कार्यक्रम सञ्चालन नहुने प्रष्ट पारे ।

उनले भने, “प्रदेश सरकारले सुशासनका क्षेत्रमा काम गरिरहेको छ । माग र आवश्यकताका आधारमा योजना छनोट भएका छन् ।”

कार्यक्रममा प्रदेशसभा सदस्यद्वय शिवराज भट्ट र विक्रमसिंह धामी, बैतडीका प्रमुख जिल्ला अधिकारी भीमकान्त शर्मा, जिल्ला समन्वय समितिका उपप्रमुख दमनबहादुर कुवँर, पुर्चाैडी नगरपालिकाका प्रमुख दीपकबहादुर बम, उपप्रमुख मीना धानुकलगायतको सहभागिता रहेको थियो ।

विसं २०७७ मङ्सिरमा निर्माण थालिएको सो भवन रुपैयाँ ६ करोड ७६ लाखको लागतमा २०८१ वैशाखमा निर्माण सम्पन्न भएको हो ।