धनगढी पोष्ट
बिहिबार, १७ असोज २०८१ मा प्रकाशित
धनगढी । सुदुरपश्चिममा दुधको उत्पादनको बजार सुनिश्चत गर्न पाउडर प्लान्ट स्थापना अनिवार्य भएको दुग्ध व्यवसायीहरुले जोड लिएका छन् । उत्पादन भएको दुधले बजा नपाइरहेकोले दुधको बजार सुनिश्चित गर्न दुधको पाउडर प्लान्ट आवश्यक रहेको नेपाल डेरी एशोसिएसन सुदुरपश्चिम प्रदेश तथा जिल्ला कमिटीले संघले बिहीबार आयोजना गरेको दशै, तिहार तथा छडको शुभकामना कार्यक्रममा व्यसायीहरुले बताएका हुन् ।
‘दुधको बजार सुनश्चित गर्न पाउडर प्लान्टको कुरा चलेको लामो समय भयो ।’ नेपाल डेरी एशोसिएसन सुदुरपश्चिम समितिका अध्यक्ष भुपेन्द्र थापाले भने ‘अब कुरा गरेर मात्र हुदैन, यसको स्थापनाको ठोस पहल हुनु पर्छ ।’
सुदुरपश्चिममा ४ लाख लिटर प्रतिदिन उत्पादन भैरहेको भए पनि एक लाख लिटर मात्र बजारमा पुगिरहेको र बाकी दुधले बजार नपाइरहेकोले पाउडर प्लान्ट जरुरी रहेको थापाले बताए ।
नेपाल डेरी एशोसिएसनका केन्द्रिय उपाध्यक्ष कर्ण बहादुर हमालले अहिले कैलाली कन्चनुरमा साना र घरेलु डेरी मात्र रहेकोले दुधको व्यावसायिक काम अघि बढ्न नसकिरहेको बताए । ‘पाउडर प्लान्ट स्थापना गरेर डेरी व्यवसायलाई अझै उत्पादनमुलक र व्यवसायिक बनाउन सकिन्छ ।’ केन्द्रिय उपाध्यक्ष हमालले भने ‘यहा रहेका सबै साना डेरीहरुले मिलेर जान सकिन्छ, यसले झनै उत्पानशीलता बढ्छ ।’
सुदुरपश्चिम प्रदेश सभाका सदस्य धर्मराज पाठकले पाउडर प्लान्ट अहिले आवश्यक रहे पनि यसबारे अझै अध्ययन गरेर मात्र अघि बढ्नु पर्ने बताए । ‘अबको समय उद्यमशिलताको नै हो । त्यसैले डेरीमा उद्यमशिलता बिकास गर्न पाउडर प्लान्ट बनाउन आवश्यक छ ।’ प्रदेश सभा सदस्य पाठकले भने ‘तर पाउडर प्लान्ट स्थापना गर्न अझै अध्ययन आवश्यक छ ।
भेटेरीनरी अस्पताल तथा पशु सेवा बिज्ञ केन्द्र कैलालीका प्रमुख डा. हेमराज अवस्थीले दुध व्यवसयालाई सहकारी मार्फत बजारीकरण गरे लैजानु ठीक हुन बताए । ‘सहकारी मार्फत दुधको बजारीकरण गर्दा व्यवस्थित हुन्छ ।’ डा. अवस्थीले भने ‘यसले दुधको यकिन तथ्यांक आउन पनि सहज हुन्छ ।’
नवजीवन सहकारी संस्थाका अध्यक्ष देव बहादुर बमले पाउडर प्लान्टको स्थापनाका लागि लगानी गर्न सहकारी तयार रहेको बताए । ‘नवजीवन सहकारी कृषि र दुग्ध उत्पादनलाई बजारीकरण गर्नु पर्छ भनेर लागेको छ ।’ अध्यक्ष बमले भने ‘पाउडर प्लान्ट स्थापना गर्ने हो भने नवजीवन लगानी गर्न तयार छ ।’
पाउडर प्लान्ट स्थापनाका लागि आवश्यक मोडालिटी टुंग्याउनु पर्ने र त्यो भएमा नवजीवन सहति अरु सहकारीहरु पनि लगानीमा तयार हुने बमले बताए ।
डेरी एशोसिएसन सुदुरपश्चिम प्रदेश समितिका सचिव हर्क बहादुर चन्दले संचालन गरेको उक्त कार्यक्रममा खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय धनगढीका प्रमुख हरेराम प्रधान, पशुपंक्षी तथा मत्स्य बिकास निर्देशनालयका अधिकृत पुष्कर नाथ, नेपाल डेरी एशोसिएसन कैलालीका अध्यक्ष डम्बर शाह लगायतले मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रम नेपाल डेरी एशोसिएसन सुदुरपश्चिम समितिका अध्यक्ष भुपेन्द्र थापाको अध्यक्षतामा भएको थियो ।