धनगढी पोष्ट
सोमबार, २१ असोज २०८१ मा प्रकाशित
धनगढी । कैलालीको धनगढी खुल्ला मञ्चमा जारी धार्मिक तथा सांस्कृतिक उत्सव–२०८१ मा छैटौँ दिन आइतबारदेखि रामलीला पनि सुरु भएको छ ।
द टुविम्स अ कम्प्लीट इन्स्टिच्युट अफ डान्स धनगढीको आयोजनामा असोज १५ गतेदेखि कार्तिक ३ गतेसम्म विजय दशमीको उपलक्ष्यमा सन्ध्याकालीन धार्मिक तथा संस्कृति उत्सवमा रामलीला पनि सुरु भएको हो ।
उत्सवका निर्देशक तथा कार्यक्रम संयोजक केशव बलायरका अनुसार आइतबारदेखि सुरु भएको रामलीलामा पहिलो दिन दशरथ–पुत्र प्राप्ति यज्ञ मञ्च भएको थियो भने आज राम जन्म उत्सव हुने छ ।
नयाँ पीढीलाई समेत धर्म संस्कार सिकाउने र संस्कृतिलाई संरक्षण गर्ने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको उनले बताए ।
उनले स्थानीय कलाकारहरूद्वारा यस क्षेत्रको संस्कृतिलाई उजागर गर्ने समेत मेलाले टेवा पुग्ने बताए । मेलामा प्रवेश निःशुल्क रहेको र विभिन्न खेल सामाग्री तथा स्टलहरू समेत रहेको आयोजकले जनाएको छ ।