धनगढी पोष्ट
सोमबार, २१ असोज २०८१ मा प्रकाशित
अछाम । अछामको बान्नीगढी जयगढ गाउँपालिका वडा नं. ५ स्थित बाहुँनगाउका ढुँगाना परिवारहरुले पितृउद्धारका लागि भागवत महायज्ञ गर्ने भएका छन् ।
अछाम बाहुनगाँउ पुख्र्यौली थलो भई हाल कैलाली, कन्चनपुर लगायत देश तथा विदेशमा रहनु भएका ढुँगाना परिवारले यो महायज्ञ गर्न लागेका हुन् ।
डा.देवेन्द्र राज भट्ट मुलवाचक रहने महायज्ञ कार्तिक २ गते कलशयात्रा सहित शुरुभई कार्तिक ९ गते पितृउद्धार सहित समापन हुने कार्यक्रम रहेको कार्यव्यवस्था समितिका सचिव दीपक राज ढुँगानले जानकारी दिए ।
पितृउद्धारका लागि गरिने उक्त महायज्ञमामा ढुँगाना परिवारका पुर्वज जयराज ढुँगानाले तत्कालिन राजाबाट पाएको ताम्रपत्रको सिलाबनाई राख्ने योजना रहेको छ ।
शाके सँवत १३५२ मा तत्कालिन राजा उदय ब्रम्हले मंगलसेनबाट बसाई सरि आएका ढुँगानाहरुका पुर्वज जयराज जोइशी (ढुँगाना) लाई हालको बाहुनगाउँमा बसोबास र हकभोग गर्ने अधिकार स्वरुप ताम्रपत्र दिएको बताईन्छ । पाली लिपीमा लेखिएको उक्त ताम्रपत्रलाई देवनागरी लिपीमा अनुवाद गरि सिलामा लेखेर महायज्ञस्थलमा राखिने छ ।
भागवतको प्रचलन
भगवान श्रीकृष्णको स्वधाम गमन पछि कलियुगको आगमन भयो । पाण्डवहरुले आफ्ना नाती परिक्षितलाई राजा बनाएर स्वर्ग प्रस्थान गरे ।
पृथ्वीको दिग्विजय गरी चक्रवर्ती सम्राट बनेका परिक्षितमा आफैले आश्रय दिएका कलिको प्रभाव पर्यो । सिकार खेल्न जङ्गल पसेका उनले तपस्यारत शमिक मुनिका गलामा मरेको सर्प पहिराइदिए ।
शमिक मुनिका पुत्र शृङ्गी ऋषिलाई आफ्ना पिताको अपमान सह्य भएन । उनले राजा परीक्षितलाई सात दिनका दिन सर्पले डसेर मृत्यु हुने श्राप दिए ।
श्राप पाएको सातौ दिनमा आफ्नो मृत्यु हुने बुझेपछि छोरा जन्मेजयलाई राजपाट सुम्पेर गङ्गा किनारमा पुगेका परीक्षितलाई व्यासपुत्र शुकदेवले जन्ममृत्युको चक्करबाट मुक्त हुने ज्ञान दिए ।
शुकदेवले राजा परीक्षितलाई दिएको त्यही ज्ञान नै श्रीमद्भागवतका रूपमा आज प्रसिद्ध बनेको छ । यसमा भक्ति, ज्ञान र कर्मको उपदेश गरिएको छ । मृत्युको सम्मुख पुगिसकेका मनुष्यले कसरी मोक्ष पाउने भन्ने प्रश्नको उत्तरमा श्रीमद्भागवतको सिङ्गो कथा घुमेको देखिन्छ ।