धनगढी पोष्ट शनिबार, ०८ मङि्सर २०८१   November 23, 2024

चाडपर्व लक्षित ११ हजार प्रहरी परिचालन

जुनसुकै स्थानमा पनि घटना हुँदा १० मिनेट भित्रै प्रहरी पुग्ने गरी मोबाइल टोली खटाइएको छ : डिआइजी केसी

चाडपर्व लक्षित ११ हजार प्रहरी परिचालन

धनगढी । सुदूरपश्चिममा चाडपर्व लक्षित हुन सक्ने अपराधिक क्रियाकलाप र सवारी दुर्घटना न्यूनीकरणका ११ हजार सुरक्षाकर्मी परिचालन गरिएको छ ।

प्रदेशका नौ जिल्लामा सात हजार प्रहरी सामान्य अवस्थामा परिचालन हुने गरे पनि चाडपर्व लक्षित सुरक्षा योजना अन्तर्गत थप चार हजार प्रहरी परिचालन गरिएको हो । 

सुदूरपश्चिम प्रदेशका प्रमुख प्रहरी नायव महानिरीक्षक रविन्द्र केसीले नागरिकको सुरक्षामा नियमित रहेका सात हजार प्रहरीका साथै थप थप चार हजार प्रहरी चाडपर्वको समयमा परिचालन गरिने बताए ।

उनले भने, ‘दशै, तिहार र छठ पर्वलाई लक्षित गरेर सुरक्षा योजना बनाएका छौँ । जनचेतना अभिवृद्धिलाई पनि लैजाने छौँ । कारबाही र ट्राफिक व्यवस्थापनको पक्ष पनि बलियो बनाएका छौँ । बिगतका वर्षहरुका घटनाको पनि विश्लेषण गरेका छौँ ।’

दशँै, तिहार र छठका लागि भारतबाट फर्किएका नागरिकको सुरक्षाका लागि पनि विशेष योजना तयार पारेको प्रहरीले जनाएको छ । चाडपर्व लक्षित सुरक्षा योजनामा सीमा सुरक्षा, चोरी–तस्करी, ठगी, लुटपाटको विषयमासमेत रणनीति तयार पारेको हो ।

नौ वटा जिल्लास्तरको कमाण्ड पोस्टमा ९९ जना प्रहरी, रिजर्वमा दुई सय छ जना, एक सय ६१ जना स्ट्राइफिङमा, पाँच सय २३ वटा पिकेटहरु, पैदल गस्ती र मोबाइल गस्तीमा पाँच सय ९९ जना, मोबाइल गस्तीमा दुई सय ५० जना, सादा पोसाकमा ६२ जना, सीमा नाकाका चेकपोस्टमा दुई सय ६५ जना, राजमार्ग चेकिङ्, जुवातास, मदिरा र लागुऔषध नियन्त्रणमा दुई सय ५० जना, एक सय आठ वटा स्थानमा नागरिक सहायता कक्ष स्थापना, राजमार्गमा स्टटिङ्गका लागि दुई सय ५० जना नियमित चेकजाँचका लागि यथावत रहेको प्रदेश प्रहरी कार्यालयले जनाएको छ । 

प्रदेश प्रहरी प्रमुख केसीका अनुसार विगतमा चाडवाडमा विशेष गरी सवारी दर्घटना बढ्ने, चोरी डकैती हुने र मेला महोत्वसमा अपराधिक कृयाकलाप हुने गरेको पाइएकाले सोही परिप्रेक्षेलाई आधार मानेर सुरक्षा योजना तय समेत गरेको बताए ।

चाडवाडको अवसरमा नियमित गस्ति बाहेक जुनसुकै स्थानमा पनि घटना हुँदा १० मिनेट भित्रै प्रहरी पुग्ने गरी मोबाइल टोली खटाइएको उनले बताए । त्यसबाहेक सादा पोशाकमा पनि प्रहरी परिचालन गरिएको उनको भनाइ छ । 

उनले ट्राफिक प्रहरीहरुसँगको संयुक्त चेकिङ्ग समेत हुने बताए । उनले भने, ‘सुरक्षा चुनौतिहरुलाई विश्लेषण गरेका छौँ । सुरक्षा चुनौतीहरुका लागि जनशक्ति परिचालन गरेका छौँ । नियमित परिचालन हुने प्रहरीमा चार हजार थपेका छौँ ।’

चाडवाडको अवसरमा नियमित गस्ति बाहेक जुनसुकै स्थानमा पनि घटना हुँदा १० मिनेट भित्रै प्रहरी पुग्नेगरी मोबाइल टोली खटाइएको उनले बताए । प्रदेश प्रहरी प्रमुख केसीले चाडपर्व ढुक्कका साथ मनाउन आग्रह समेत गरेका छन् । 

विगतमा सवारी चेकजाँचमा खटिएका प्रहरीले क्षमता भन्दा बढी यात्रु र सामान बोकेको देखेर पनि पैसा खाएर छोड्ने गरेको गुनासो आउने गरेको भन्दै प्रदेश प्रहरी प्रमुख केसीले त्यसलाई निरुत्साहित गर्न चेकजाँचमा बसेका प्रहरीको निगरानी गर्न सादा पोसाकमा थप प्रहरी परिचालन गरिएको बताए ।

कुनै पनि स्थानमा प्रहरीले नियम विपरित काम गरेको देखेमा उजुरी गर्न पनि उनले सर्वसाधारणलाई आग्रह समेत गरेका छन् । 

रहेको विपद व्यवस्थापन गणका दुई सय कर्मचारी बाहेक अन्य क्षेत्रका प्रहरीहरु परिचालन गरिएको छ ।

प्रदेश प्रहरीका दुई सय कर्मचारी, नेपाल प्रहरी विशेष सुरक्षा गण, प्रदेश सशस्त्र गण लगायत कार्यालयमा रहेका प्रहरी कर्मचारीहरुलाई नगरिकको सुरक्षामा खटाइएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ । 

उनीहरुले नेपाल–भारतको सीमा क्षेत्रदेखि ग्रामीण बस्तीका नागरिकको घर–दैलोसम्मै सुरक्षा दिने प्रदेश प्रहरीले जनाएको छ । तर, नागरिकस्तरबाट हुने सहयोग गर्न प्रहरीले आग्रह समेत गरेको छ ।

साथै चाडपर्वको समयमा कुनै पनि नागरिकलाई असुरक्षाको अनुभुति नहोस भनेर थप प्रहरी परिचालन गरिएको छ ।