धनगढी पोष्ट शनिबार, ०८ मङि्सर २०८१   November 23, 2024

राँगोले हानेर शिक्षकको मृत्यु

राँगोले हानेर शिक्षकको मृत्यु

पोखरा । राँगोले हानेर पोखरा महानगरपालिका वडा नम्बर ३३ का शिक्षक धनञ्जय आचार्यको मृत्यु भएको छ। फार्ममा रहेका भैंसी, राँगा चराउन लैजाँदा राँगाले हानेर शिक्षक आचार्यको मृत्यु भएको स्याङ्जा प्रहरी प्रवक्ता डिएसपी हरि पौडेलले जानकारी दिए।

आचार्य भैंसी चराउन गत मंगलबार फार्म पुगेका थिए। उक्त फार्म उनका दाजुको हो। दाजु जेठानको मृत्यु भएकाले अन्त्येष्टिमा गएका थिए। आचार्य एक्लैले भैंसी फार्म हेर्दै आएका थिए।

रागाले चराउन गएको ठाउँमा उनलाई लखेट्दै हानेको डोबहरू देखिएको डिएसपी पौडेलले बताए। कास्की र स्याङ्जाको सीमावर्ती क्षेत्र भएकाले गोठ कास्कीमा परे पनि चराउने ठाउँ स्याङ्जामा पर्छ। घटनास्थल स्याङ्जामा परेकाले मुचुल्का स्याङ्जा प्रहरीले बनाएको थियो। 

‘घटनास्थल हेर्दा राँगाको पाइलाका डोबहरू देखिन्छ। लडेको ठाउँमा निकै संघर्ष गरे जस्तो भेटियो। मृतकको दुई ठाउँमा सिङले उनिएको डोब पनि छन्,’ डिएसपी पौडेलले भने । 

पोखरा-३३ स्थित जनचेतना माविका शिक्षकसमेत रहेका आचार्यलाई मंगलबार राँगाले हाने पनि उनको शव भने बुधबार मात्र भेटिएको थियो। साँझसम्म भैंसी र राँगाहरु गोठ फर्किए पनि मान्छे नफर्किएकाले परिवारले कास्की प्रहरीलाई खबर गरेका थिए।

मंगलबार रातिसम्म खोजतलास गर्दासमेत नभेटिएपछि बुधबार उनको खोजी गरिएको थियो। बुधबार शव भेटेर पोष्टमर्टम गर्न पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाएको डिएसपी पौडेलले बताए। आचार्यको पोष्टमार्टम पश्चात अन्तेष्टि पनि भइसकेको छ।