धनगढी पोष्ट
आइतबार, २७ असोज २०८१ मा प्रकाशित
धनगढी। दसैँ टीकाको दिन कैलालीमा १६ स्थानमा सवारी दुर्घटना भएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार मान्छेले मादक पदार्थ सेवन गरी तीव्र गतिमा सवारी साधन चलाउँदा धेरै दुर्घटना भएका हुन् ।
सवारी दुर्घटनामा एक जनाको ज्यान गएको र कैयौँ व्यक्ति घाइते भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक कवीन्द्रसिंह बोहराले जानकारी दिए । प्रहरीका अनुसार कञ्चनपुरको कृष्णपुर नगरपालिका –७ कलुवापुर बस्ने वर्ष ३५ का गोविन्द झुकालले चलाएको सुप प्र ०१००८ प ०८५ नम्बरको मोटरसाइकलको ठक्करबाट एक पैदल यात्रीको ज्यान गएको छ ।
धनगढी उपमहानगरपालिका–१३ स्थित एयरपोर्ट जाने चोकनजिक मोटरसाइकलले पैदल यात्रीलाई ठक्कर दिएको थियो । ठक्करबाट गम्भीर घाइते सोही स्थानका अन्दाजी ६४ वर्षीय अकबर ठगुन्नाको मायामेट्रो अस्पतालमा उपचारको क्रममा मृत्यु भएको थियो ।
सोही मोटरसाइकलमा पछाडि बसेका तीन जना घाइते भएका छन् । पछाडि सवार वर्ष १२ की जेनिसा झुकाल, धनगढी बस्ने वर्ष ३२ की बसन्ती विष्ट र उहाँकी दुई वर्षीया छोरी शिवानी विष्टलाई चोट लागेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता बोहराले बताउनुभयो । तीनै जनाको अवस्था सामान्य रहेको छ । मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
यसैगरी, २५ वर्षीय सुमन चौधरीले चलाएको से ५ प ९७५८ नम्बरको मोटरसाइकल गोदावरी नगरपालिका –१ स्थित मनेहरा पुलनजिक अनियन्त्रित भई पल्टिँदा चालक घाइते हुनु भएको छ । घाइतेको टाउको, छातीमा चोट लागेको र अवस्था गम्भीर रहेको जनाइएको छ । घाइतेको विसर्ग अस्पतालमा उपचार भइरहेको छ ।
त्यस्तै, धनगढी उपमहानगरपालिका–७ का २५ वर्षीय शिवलाल रानाले चलाएको सुप प्र ०१००९ प ९४७४ नम्बरको मोटरसाइकलले छाडा गाईलाई ठक्कर दिँदा पछाडि सवार ३० वर्षीय जीवन राना घाइते हुनु भएको छ । उनको अनुहारमा चोट लागेको जनाइएको छ ।
यसैगरी, धनगढीतर्फ फूलबारीतर्फ गइरहेको सुप प्र ०००८ प ९७३१ नम्बरको मोटरसाइकलले सोही दिशातर्फ गइरहेको सुप प्र ०१००१ नम्बरको अटोलाई पछाडिबाट ठक्कर दिँदा तीन जना घाइते भएका छन् ।
मोटरसाइकल चालक २३ वर्षीय विक्रम दहित, पछाडि सवार १७ वर्षीय विशेष चौधरी र अटो चालक ४० वर्षीय बहादुर महतारा घाइते भएका जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ ।
तीनै जनाको सेती प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ । उनीहरूको अवस्था खतरामुक्त रहेको प्रहरी नायब उपरीक्षक बोहराले जानकारी दिए ।