धनगढी पोष्ट
आइतबार, २७ असोज २०८१ मा प्रकाशित
डडेल्धुरा । जिल्ला प्रहरी कार्यालय डडेल्धुराले अमरगढी नगरपालिका–७ पोखरा बजारकी १४ वर्षीय आरती भट्टराईको हत्या आरोपितलाई सार्वजनिक गरेको छ ।
प्रहरीले आइतबार पत्रकार सम्मेलनको आयोजना गर्दै आरतीको हत्या गरेको आरोपमा पोखरा बजारमै पुस्तक पसल सञ्चालन गर्दै आएका ५८ वर्षीय टेक बहादुर भण्डारीलाई सार्वजनिक गरेको हो ।
आरतीको शुक्रवार प्लास्टिकमा बेरिएको अवस्थामा शव फेला परेको थियो । असोज २५ गते (बिहीबार) दिउँसो ४ बजे घरबाट मिल गएकी आरती घर नफर्किएपछि परिवारले उनको खोजी कार्य थालेको थियो ।
त्यसपछि असोज २६ गते (शुक्रवार) प्लास्टिकमा बेरिएको अवस्थामा शव फेला परेपछि उक्त शव आरतीको रहेको खुलेको थियो ।
घटनास्थलबाट करिब १५/२० मिटर पूर्वतर्फ नालामा फालेको अवस्थामा टेक बहादुर भण्डारीको म १ प १४५४ नम्बरको मोटरसाइकल फेला पारेपछि प्रहरीले उनलाई नियन्त्रणमा लिएको थियो ।
प्रहरीले गरेको प्रारम्भिक अनुसन्धानका क्रममा उनले हत्या गरेको स्वीकार गरिसकेको प्रहरीले जनाएको छ ।