धनगढी पोष्ट सोमबार, १३ असोज २०८३   September 28, 2026

मनसुन पुनः सक्रिय, भारी वर्षाको सम्भावना

धनगढी

  केही दिन कमजोर रहेको मनसुन सोमबारदेखि पुन सक्रिय हुन थालेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

 मनसुनी वायुसँगै नेपालको दक्षिण भू–भाग नजिक मनसुनी न्यून चापीय रेखा रहेकाले गतिविधि सक्रिय भएको मौसमविद सजिना शाक्यले जानकारी दिएकी छन् । अहिले देशभर सामान्य बदली रही प्रदेश १, बागमती, गण्डकी, प्रदेश ५, कर्णाली र सुदूरपश्चिम प्रदेशमा निरन्तर वर्षा भइरहेको छ ।

 सोमबार दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली भइ केही स्थानमा हल्कादेखि मध्यम वर्षा हुने मौसमविद शाक्यले  बताइन् । प्रदेश १, बागमती, गण्डकी, प्रदेश ५, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा मेघ गर्जन र चट्याङ्ग सहित भारी वर्षा हुने जनाइएको छ ।

  राति पनि देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानमा हल्कादेखि मध्यम वर्षा हुने सम्भावना छ । बेलुकादेखि मनसुन थप सक्रिय हुने महाशाखाले जनाएको छ । देशका विभिन्न नदीमा पानीको बहाव बढ्ने, पहिरो जाने, भूक्षय हुने तथा डुबानको सम्भावना रहेकाले सतर्ककता अपनाउन मौसमविदले आग्रह समेत गरेका छन् ।


ट्रेन्डिङ