मनसुन पुनः सक्रिय, भारी वर्षाको सम्भावना

धनगढी

  केही दिन कमजोर रहेको मनसुन सोमबारदेखि पुन सक्रिय हुन थालेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

 मनसुनी वायुसँगै नेपालको दक्षिण भूभाग नजिक मनसुनी न्यून चापीय रेखा रहेकाले गतिविधि सक्रिय भएको मौसमविद सजिना शाक्यले जानकारी दिएकी छन् । अहिले देशभर सामान्य बदली रही प्रदेश १, बागमती, गण्डकी, प्रदेश ५, कर्णाली र सुदूरपश्चिम प्रदेशमा निरन्तर वर्षा भइरहेको छ ।

 सोमबार दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली भइ केही स्थानमा हल्कादेखि मध्यम वर्षा हुने मौसमविद शाक्यले  बताइन् । प्रदेश १, बागमती, गण्डकी, प्रदेश ५, कर्णाली र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा मेघ गर्जन र चट्याङ्ग सहित भारी वर्षा हुने जनाइएको छ ।

  राति पनि देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानमा हल्कादेखि मध्यम वर्षा हुने सम्भावना छ । बेलुकादेखि मनसुन थप सक्रिय हुने महाशाखाले जनाएको छ । देशका विभिन्न नदीमा पानीको बहाव बढ्ने, पहिरो जाने, भूक्षय हुने तथा डुबानको सम्भावना रहेकाले सतर्ककता अपनाउन मौसमविदले आग्रह समेत गरेका छन् ।