धनगढी पोष्ट
बुधबार, ३० असोज २०८१ मा प्रकाशित
धनगढी । धनगढीस्थित खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले ३८ लाख रुपैयाँ बराबरको चामल बिक्री गरेको छ।
यही असोज ७ गतेदेखि सञ्चालन गरेको चाडपर्वलक्षित सुपथ मूल्य पसलबाट उक्त रकम बराबरको चामल बिक्री भएको हो।
सुदूरपश्चिमका डोटी, डडेल्धुराका १र१ र कैलालीका २ स्थानमा सञ्चालित सुपथ मूल्य पसलबाट ३ थरिका ५४० क्विन्टल चामल बिक्री भएको कार्यालयका निमित्त प्रमुख कल्पना बिष्टले जानकारी दिइन्।
डडेल्धुरास्थित गोदामबाट १५६ क्विन्टल, डोटीको सिलगढीस्थित गोदामबाट २२६ क्विन्टल, कैलालीको धनगढीस्थित बिक्री कक्षबाट १०७ क्विन्टल र धनगढीको मोहनपुर गोदामबाट ४९ क्विन्टल चामल बिक्री भएको जानकारी उनले दिइन्।
कम्पनीले सबै प्रकारका चामलमा प्रतिकिलो ५ रुपैयाँ छुट दिएर बिक्री गरिरहेको उनले बताइन्। सुपथ मूल्य पसल आगामी माघ २ गतेसम्म सञ्चालनमा रहने तथा २ हजार क्विन्टल चामल बिक्री हुने अपेक्षा गरेको जानकारी उनले दिइन्।