धनगढी पोष्ट
शनिबार, ०३ कार्तिक २०८१ मा प्रकाशित
धनगढी । कैलालीको धनगढी उपमहानगरपालिका वडा नम्बर ७ देवहरियामा रहेको दाइजो कृषि सहकारी संस्था लिमिटेडले १२ जना कृषकलाई कृषि सामाग्री (पावर टेलर) वितरण गरेको छ ।
धनगढीमा सहकारीले शनिबार एक कार्यक्रममको आयोजना गरेर धनगढी भित्रका १२ जना कृषकलाई कृषि सामाग्री वितरण गरेको हो ।
ग्रामीण उद्यम तथा आर्थिक विकास आयोजना डडेल्धुराको ५० प्रतिशत अनुदान लागतमा सहकारीले कृषकलाई कृषि सामाग्री वितरण गरेको हो ।
कार्यक्रमका नेकपा एमालेका पोलिटब्युरो सदस्य एवम् पूर्वमन्त्री नारदमुनी रानाले धनगढी वडा नम्बर १३ का कृषक कृष्णपाल रानालाई पावर टेलरको हत्ता हस्तातरण गरेका थिए ।
पोलिटब्युरो सदस्य रानाले आर्थिक विकास आयोजनाबाट जतिसक्दो कृषकहरुले लाभ र फाइदा लिनुपर्ने बताए । किसान युवाहरुलाई यो आयोजना प्रेरणाको स्रोत समेत बनेको उनले बताए ।
उनले अर्थतन्त्रको तीन वटा खम्बा भनेको सहकारी नै रहेको बताए । सहकारीको माध्यबाट किसानलाई माथि उकासनका लागि केही हदसम्म भए पनि मदत पुगेको उनले बताए । पावर टेलरले गर्दा भोलिका दिनमा किसानहरुको बढोतरमा समेत टेवा पुग्ने उनको भनाइ छ ।
धनगढी उपमहानगरपालिकाकी उपप्रमुख कन्दकला कुमारी रानाले सहकारीले हिजोका दिनमा पनि राम्रा–राम्रा सामाजिक उत्तरदायी कामहरु गरेको बताइन् ।
दाइजो सहकारीले वित्तीय कारोबार मात्रै नभएर किसानहरुको क्षेत्रामा समेत राम्रो काम गरेको उनले बताइन् । उपमहानगरपालिकाले सहकारी संस्थाहरुलाई मल वितरणको समेत अनुमति दिएको उनले बताइन् ।
सहकारीका अध्यक्ष मानबहादुर रानाले आगामी दिनहरुमा सहकारीले अझै राम्रो कामहरु गर्दै जाने बताए ।
कार्यक्रममा स्वागत मन्तव्य संस्थाका सल्लाहकार संयोजक चन्द्र किरण रानाले राखेकी थिइन् भने सञ्चालन सहकारीका सचिव दिपक जोशीले गरेका थिए ।